मेची उद्योग बाणिज्य संघ द्धारा ‘व्यवसायिक सदस्य विमा कोष ’लागू

2020-07-18 मा प्रकाशित

मेचीनगर ÷ मेची उद्योग बाणिज्य संघले साना उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि ‘व्यवसायिक सदस्य विमा कोष ’लागू गरेको छ ।
शुक्रबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि संघले विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको र यस पटक संघमा आवद्ध उद्यमी व्यवसायीहरुको व्यक्तिगत जीवन विमा गर्ने कार्यक्रम लागूगरिएको बताए । संघले बिमाको लागि व्यवसायिक सदस्य विमा कोष खडागरेको छ । व्यवसायिक सदस्य विमा कोषबाट जुनसुकै कारणले हुने घटना, दुुर्घटना वा प्राकृतिक मृत्युवरण गर्ने मेची उद्योग वाणिज्य संघमा आवद्ध सदस्य र निजले इच्छाएको परिवारको दुईजना सदस्यलाई आर्थिक राहत प्रदान गरिने बताइएको
व्यवसायिक सदस्य विमा कोष २०७७ सञ्चालन गर्नका लागि मेची उद्योग वाणिज्य संघ अन्तर्गत ७ सदस्यीय समिति गठन गरिएको पत्रकार सम्मेलनमा वितरण प्रेस विज्ञप्तीमा उल्लेख छ ।
संयोजक,अध्यक्ष, मेची उद्योग वाणिज्य संघ, सह–संयोजक, वरिष्ठ उपाध्यक्ष, मेची उद्योग वाणिज्य संघ तथा सदस्यहरु मेचीनगरनगरपालिका, भूतपूर्व अध्यक्ष, मेची उद्योग वाणिज्य संघ, महासचिव, मेची उद्योग वाणिज्य संघ कार्यकारिणी सदस्य (महिला), मेची उद्योग वाणिज्य संघ र कार्यकारिणी सदस्य, मेची उद्योग वाणिज्य संघबाट १–१ जनाले प्रतिनिधित्व गर्नै संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए।
कोषमा मेची उद्योग वाणिज्य संघको साधारण सदस्य बन्ने नयाँ सदस्यहरु र यो कार्यविधि लागू भएपछि नविकरण गर्ने सदस्यले वार्षिक नविकरण शुल्कका अतिरिक्त यस कोषमा प्रथम पटक थप एक हजार र सो पश्चातका वर्षहरुमा थप दुईसय रुपैयाँका दरले व्यवसायिक सदस्य विमा कोष वापतको शुल्क बुझाउनु पर्ने उल्लेख छ । आर्थिक वर्ष २०७८÷०७९ देखि नयाँ सदस्यता लिने फर्महरुले प्रथम पटकको लागि एकहजार पाँचसय र सो पश्चातका बर्षहरुमा दुईसय रुपैयाँ बुझाउनु पन व्यवस्था मिलाइएको संघका अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
कोष सञ्चालनका लागि संघको आन्तरिक श्रोतबाट ५ लाख तथा मेचीनगर नगरपालिकाबाट प्राप्त ५ लाख समेत गरि जम्मा १० लाख रुपैयाँको व्यवसायिक सदस्य विमा कोष स्थापना गरि माछापुच्छ्रे बैंक, विर्तामोडमा कोषको छुट्टै मुद्धती खाता सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमा बताइएको छ । कोषमा वार्षिक रुपमा कोष अन्तर्गत संकलन हुने शुल्क थप गर्दै लगिने छ ।
विमा कोषमा आवद्ध सदस्यका लागि अधिकतम एकलाख रुपैयाँसम्म उपसमितिको निर्णयबाट राहत प्रदान गरिने छ । यसैगरी सदस्यले इच्छाएका दुइजना व्यक्तिहरुको जुनसुकै कारणबाट मृत्युवरण भएमा प्रतिव्यक्ति पच्चिस हजार रुपैयाँसम्म राहत सहयोग उपलव्ध गराइनेछ ।
व्यवसायिक सदस्य विमा कोषबाट राहत सुविधा प्राप्त गर्नका लागि कुनैपनि सदस्यले संघको विधान अनुसार नियमित सदस्यता नविकरण गरेको हुनुपर्नेछ भने नयाँ सदस्यता प्राप्त गरेको फर्मको हकमा सदस्यता प्राप्त गरेको कम्तिमा ६ महिना पुरा गरेको हुनुपर्ने छ । यसैगरि दुई वा सो भन्दा बढि फर्म सदस्य रहेको सञ्चालकको हकमा कुनै १ फर्मबाट मात्र राहत सुविधा प्राप्त गर्ने तर प्रत्येक फर्मका लागि इच्छाइएको व्यक्ति फरक फरक राख्न भने पाइने व्यवस्था छ । यसैगरि दुई वा सो भन्दा बढि सञ्चालक रहेको साझेदारी फर्म वा प्रा.लि. कम्पनीहरुको हकमा एक आर्थिक वर्षमा साझेदारहरु मध्ये कुनै १ जनाले मात्र सो सुविधा पाउने व्यवस्था गरिएको छ ।
यसैगरि मेची उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरुको व्यवसायिक प्रतिष्ठानमा प्राकृतिप प्रकोपका कारण हुनसक्ने क्षतिलाई सम्बोधन गर्ने उद्देश्यले संघले यसअघि पनि व्यवसायिक अक्षयकोष स्थापना गरि राहत विवरणको कार्यलाई निरन्तरता दिदै आएको पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रारम्भमा १० लाखबाट शुरु गरिएको उक्त कोषमा हाल करिब १८ लाख रुपैयाँभन्दा बढि रकम जम्मा रहेको छ भने यस कोषबाट प्राप्त व्याजबाट संघमा आवद्ध सदस्यहरुबाट प्रत्येक वर्ष प्राकृतिक प्रकोपका कारण भएको क्षति सहित पेश हुन आउने निवेदनका आधारमा राहत सहयोग वितरण गर्दै आएको छ ।
यसैगरि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समयसम्म जारी लकडाउनले उद्योग, व्यापार व्यवसायमा परेको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै संघमा आवद्ध रहेका उद्योग, व्यवसायको आर्थिक २०७७÷०७८ सम्मको सदस्यता नविकरणका लागि संघले नविकरण शुल्कमा ५० प्रतिशत मिनाहा गर्ने निर्णय समेत गरेको छ । पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष विजय डालमिया वरिष्ठ उपाध्यक्ष मोहन निरौलालगायतले विविध विषयमा प्रष्ट पारेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु