उपाधि न्यू स्टार क्लबलाई

2023-02-21 मा प्रकाशित

मेचीनगर, ९ फागुन । नवज्योति फुटबल कपको उपाधि न्यू स्टार क्लब बुद्धशान्तिले हात पारेको छ ।

आज सम्पन्न फाइनल खेलमा आयोजक नवज्योति युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि उचालेको हो ।

बुद्धशान्तिका जर्सी नं १७ का अनुज भट्टराई, जर्सी नं ५ का प्रशान्त लिम्बु र जर्सी नं १० आयुश राईले एक÷एक गोल गरेका थिए ।

स्थानीय नवज्योति आधारभुत विद्यालयको खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफमा आक्रामक रुपमा अघि बढेको बुद्धशान्तिले खेल सुरु भएको २ मिनेटमै पहिलो गोल गर्यो ।

आयोजक टिमका गोलरक्षक अघि बढेको मौकालाई सदुपयोग गर्दै बुद्धशान्तिका अनुज भट्टराईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । एक गोलको अग्रता लिएको बुद्धशान्तिले खेलको ४० औँ मिनेटमा पुनः प्रशान्त लिम्बुले गोल गरे ।

आयोजकले थुप्रै मौका पाएको थियो । तर प्रहारहरु सबै असफल भए ।

खेलको ६० औँ मिनेटमा फेरि बुद्धशान्तिका आयुश राईले पुनः अर्को गोल गर्दै आफ्नो टिमको जित निश्चित गरे । बुद्धशान्तिले ३–० को सानदार जितका साथ उपाधि चुम्यो ।

उपाधिसगैँ बुद्धशान्तिले ८१ हजार नगद तथा उपविजेता आयोजकले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका लागि दोस्रो गोल गर्न सफल अनुज भट्टराई घोषित भए । उनले मेडल प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता विजेता टिमकै आयुश राई घोषित भए । उनले सर्वाधिक ३ गोल गर्दै बेस्ट स्कोरर अवार्डको रक्षा गरेका हुन् ।

प्रतियोगिताको म्यान अफ द सिरिजको अवार्ड पनि विजेता टिमकै विशाल दर्जीले प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षकको अवार्ड आयोजक टिमका गोल रक्षक देवन भुजेलले हात पारे ।

प्रदेश १ का सांसद गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा खेलाडीहरुलाई शुभकामना दिदैँ सांसद तामाङले स्थानीय सरकारले खेलकुद प्रतियोगिताको नीति बनाएर युवा खेलाडीहरुको हौसला बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडाध्यक्ष दिपक बराल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता गत माघ २८ गतेदेखि सुरु भएको थियो । नवज्योति युवा क्लबको ३० औँ बर्ष प्रवेशको अवसरमा सो प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुमन थापाले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु