‘प्यारीभिट्टा महोत्सव’ आजबाट सुरु

2023-03-19 मा प्रकाशित

मेचीनगर, चैत ५ । लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँदै युवाहरुलाई समाज परिवर्तनमा सक्रिय बनाउने उद्देष्यका साथ मेचीनगरमा आजबाट ‘प्रथम प्यारीभिट्टा महोत्सव’ शुरु भएको छ ।
आज एक भव्य कार्यक्रमका बिच कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले महोत्सवको उद्घाटन गर्नुभयो । मेचीनगर ७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा शुरु भएको महोत्सव २० गतेसम्म सञ्चालन हुनेछ ।
समाजमा जरा गाडेर विद्यामान अवस्थालाई विकराल बनाइरहेको लागुऔषध जस्तो विकृतिलाई युवाहरुबाट छुटाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘महोत्सवमा जुवा तास, डाइस, लकि सेभेन जस्ता सबै खेल निषेध गरिएको छ, लागुऔषध विरुद्ध सचेतना जगाउने विभिन्न संघ संस्थासगँ समन्वय गरेर महोत्सवलाई ज्ञान बाँड्ने ठाउँ बनाउने प्रयास गरेका छौँ ।’ आयोजक प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तीनाथ काफ्लेले भन्नुभयो ।
मेचीनगर क्षेत्रमै युवाहरुको आयोजनामा यस किसिमको सचेतनामुलक महोत्सव आयोजना भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तामाङले खुशी व्यक्त गर्नुभएको छ । शुभकामना मन्तव्य राख्दै उहाँले महोत्सव सफलताका लागि आफ्नो तर्फबाट हरपल सहयोग गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
‘यो समाजलाई गलत दिशातर्फ धकेलिरहेको लागुऔषधलाई हटाउन यस किसिमका महोत्सवले ठुलो सहयोग गर्नेछ ।’ उहाँले भन्नुभयो ‘जुवा तास त निषेध गरिएको रहेछ, महोत्सवमा धुमपान, मद्यपान पनि निषेध गर्न आयोजकलाई आग्रह गर्दछु ।’
कार्यक्रममा मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओली, लागुऔषध नियन्त्रणका लागि सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।
आजबाट शुरु भएको महोत्सवमा राष्ट्रिय स्तरका ख्यतिप्राप्त दजर्नौ कलाकारहरुले समेत प्रस्तुती दिनेछन् । आयोजकका अनुसार भोलीको साँझलाई उल्लासमय बनाउन सारेगम लिटल च्याम्पका प्रितम आचार्य आउँदैहुनुहुन्छ ।
महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु पनि राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु