तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेडलाई

2023-03-20 मा प्रकाशित

मेचीनगर, ६ चैत । तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड झापाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर काठमाडौँलाई २–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि जितेको हो ।

काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि जिताउँन बिर्तामोडका सुशन राई र रमेश गुरुङ सफल भए । उनीहरुले समान एक–एक गोल गरे ।

काठमाडौँले गोल गर्ने अवसरहरु थुप्रै पाएको थियो । तर अवसरलाई सदुपयोग गर्न भने सकेन । शुसन राईको गोलबाट अग्रता लिएको बिर्तामोडले पेनाल्टी मार्फत पुनः अर्को गोल गर्दै उपाधि हात पार्यो । उपाधिसगैँ बिर्तामोडले नगद २ लाख राशिसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गयो।

उपविजेता बनेको काठमाडौँले नगद १ लाख राशिसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका बाबुलाल आस्था घोषित भए । उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा उपविजेता फ्रिडम फाइटर काठमाडौँका श्यामबहादुर गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि आयोजक समेत रहेको काँकरभिट्टा भेट्रान फुटबल क्लबका सुजन शाक्यले पाए ।

प्रतियोगितामा ज्येष्ठ भेट्रान खेलाडीलाई समेत सम्मान गरिएको थियो । जसमा डाउन टाउन दार्जिलिङका राजन गोले तामाङ सम्मानित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड काठमाडौँका राजकुमार घिसिङले प्राप्त गरे । उनले नगद १० हजारसहित ट्रफी प्राप्त गरे । प्रतियोगिता गत फागुन २७ गतेदेखि सुरु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, विशेष अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी लगायतले प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेको आयोजक समितिका महासचिव शेरबहादुर बस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु