प्रविधिमैत्री शिक्षामा फड्को मार्दै बलभद्र

2023-03-22 मा प्रकाशित

डम्बर बराल
मेचीनगर÷ कक्षा नर्सरीका विद्यार्थी हुन् या कक्षा १२ का, सबैमा उत्तिकै उत्साह थियो । सबै उत्साहित भएर सिकाइमा ध्यान दिइरहेका थिए ।
नर्सरीदेखि कक्षा १ सम्मका साना साना नानीहरुलाई स्मार्ट टेलिभिजन र सिकाइमा सहयोगी बिभिन्न खेल सामाग्रीले ध्यान केन्द्रित गरिरहेको छ भने कक्षा ४ का विद्यार्थी नयाँ टेक्नोलोजीलाई पछ्याउँदै कम्युटर सिकाइमा व्यस्त छन् ।


उता कक्षा ११ र १२ विद्यार्थीमा पनि कम उत्साह छैन । सबै प्रविधिमैत्री शिक्षाबाट प्रभावित भइरहेका छन् । उनीहरुलाई स्मार्टबोर्डको प्रयोगबाट भइरहेको सिकाइले थप उत्साहित बनाइरहेको छ ।
मेचीनगर–११ स्थित बलभद्र जनता मावि पुग्दा देखिने दृष्यि हो यो । यो विद्यालय पछिल्लो समय प्रविधि मैत्री बन्दै गएको छ । सुविधा सम्पन्न विद्यालय भवन, अंग्रेजी माध्यमको सिकाई, कम्यूटर शिक्षा, स्मार्टबोर्डको प्रयोगका साथै पुस्तकालय यस विद्यालयका विषेशता हुन् ।


२०१७ सालमा स्थापना भएको बलभद्र माध्यमिक विद्यालयको यतिखेर काँचुली फेरिएको छ । सानो विद्यालय भवनबाट पठनपाठन गराउँदै आएको विद्यालयले यसै शैक्षिक सत्रबाट सुविधा सम्पन्न नयाँ भवन पाएको छ । विद्यायको पुरानो भवन जीर्ण भएपछि २०६९ सालमा सुविधा सम्पन्न भवन निर्माणको काम सुरु भएको थियो । भारतीय राजदुतबासको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको सभाहल सहित २२ कोठ उक्त भवन १५ महिनामा काम सक्नेगरी तुलसी भक्त निर्माण सेवा कम्पनीले २ करोड ६४ लाखमा ठेक्का लिएको थियो । ३ करोड ६४ लाख बजेट भएपनि ठेकेदार कम्पनीले १ करोड बिलोमा ठेक्का लिएपछि घाटा हुने देखेर ठेकेदारले समयमा काम गर्न सकेन । पटक पटक जिल्ला प्रशासन कार्यलय, ठेकेदार र विद्यालय ब्यवस्थापन समितिबीच छलफल भएपछि १० वर्षपछि कामले लगभग पूर्णता पाएको छ ।


समयमा काम नसक्दा विद्यार्थीको पठनपाठन समेत प्रभावित हुँदै आएको थियो । १५ महिनामा सक्ने काम १० वर्षमा पनि पूर्ण भएको छैन । विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद सुवेदी भन्छन्, ‘ठेकेदार कम्पनीले गर्नु पर्ने केही कामहरु बाँकी छन् । यद्यपि हामीले यसै शैक्षिक सत्रबाट नयाँ भवनमा पठनपाठन सुरु गरेका छौं ।’ सम्झौतामा उल्लेख भएका काम मध्ये तटबन्धन खानेपानी र शौचालयको काम पुरा हुन नसकेको उनको भनाइ छ ।
विद्यालयले हाल ३ वटा स्मार्ट बोर्ड प्रयोगमा ल्याएको छ । कक्षा ११ र १२ का विद्यार्थीले प्रविधियुक्त बोर्डबाटै सिकाइ गरिरहेका छन् भने कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षण सिकाई स्मार्टबोडको माध्यमबाटै गराउँदै आएको विद्यालयका प्रअ सुवेदीले बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत २०७७÷७८ मा नगरबाट ६ लाख ५० हजार, त्यसैगरी प्रदेश सरकारबाट समेत शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत ६ लाख ५० हजार विद्यालयले प्राप्त गरेको थियो । सोही रकमले विद्यालयले स्मार्टबोर्ड १२ वटा कम्यूटर इन्भटरलगायतका सामाग्री खरिद गरेर प्रयोगमा ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयलाई प्रविधिमैत्री तथा नमूना विद्यालयको रुपमा विकास गर्ने लक्ष्यका साथ विद्यालय प्रशासन, शिक्षक, शिक्षक अभिभावक संघ र व्यवस्थापन समितिले सहकार्य गरेर अघि बढिरहेको विद्यालयका शिक्षक होमराज ढकालले बताए । विद्यालयमा आवश्यक पर्ने पुस्तकको अभाव हुन नदिन ६ लाख ५० हजारको विभिन्न पुस्तक सहित पुस्तकालय स्थापन गरेको छ ।
पुस्तकालयको लागि संघीय सांसद विकास कोषबाट पूर्व सांसद राम कार्कीबाट ६ लाख ५० हजार प्राप्त भएको उनले बताए । पुस्तकालयमा विद्यार्थीको लागि आवश्यक पुस्तक तथा अन्य बिभिन्न पुस्तक राखिएको छ । विद्यालयमा स्थानीय सहयोगी दाताहरुले समेत सहयोग गरिरहेको शिक्षक ढकालले बताए ।
विद्यालयमा ८ वटा सीसी क्यामेरा जडान गरिएको छ । उक्त सीसी क्यामेरा स्थानीय समाजसेवी देवेन्द्र थेवे र शिक्षक मञ्जु थेवेले प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयको मुलगेटमा समाजसेवी राजन चिमरिया र योगेन्द्र चिमरियाले डिस्प्ले बोर्ड राखिदिएका छन् भने साना नानिहरुका लागि स्थानीय दाताराम सेडाइँले स्मार्ट टेलिभिजन उपलब्ध गराएको विद्यालयले जनाएको छ । दाताहरुको सहयोगबाट बलभद्र माविले शैक्षिक सिकाइमा प्रगति गरिरहेको अभिभावकहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु