पूर्वी सिमानाबाट हात्ती द्वन्द्व नियन्त्रणको नयाँ अभियान

2023-04-17 मा प्रकाशित

डम्बर बराल
मेचीनगर, ४ बैशाख । मानिस र हात्तीबीचको द्वन्द्वका कारण यसले निम्त्याएको आर्थिक, सामाजिक मानवीय क्षति अनि बाल मनोविज्ञानमा पारेको असर यो बाहुनडाँगी बासीका निम्ति नौलो कुरा होइन ।
साच्चै भन्नु पर्दा बाहुनडाँगी र हात्ती पर्याय जस्तै बनेको छ । वर्षौदेखि बाहुनडाँगीवासी हात्तीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउने प्रयासमा छन् । हरेक दिन भारतीय भूभागबाट ठूलो संख्यामा हात्ती आउँदा त्रासपूर्ण जीवन बिताउँदै आएका उनीहरु आफ्नो बाली र परिवार जोगाउने क्रममा हात्तीको आक्रमणमा परेर कयौँले आफ्नो जीवन समाप्त पारेका छन् भने कयौँ हात्तीले समेत सो क्षेत्रमा जीवन गुमाएका छन् ।


यो मानव र हात्ती बीचको द्वन्द्वले काहाली लाग्दो अवस्था सिर्जना भएको छ । हात्ती नियन्त्रणको लागि केही वर्षयता स्थानीय र राज्य सरकारबाट प्रयासहरु नभएका भने होइनन् । तर, ती प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् । बाहुनडाँगी बासीलाई हात्तीको त्रासबाट कसरी मुक्त गर्न सकिन्छ अनि हात्ती र मानवबीच हुने गरेको द्वन्द्व घटाएर मानव र हात्तीवीच सहअस्तित्व कायम गर्नको लागि पछिल्लो समय सरोकारवालाहरुको समेत ध्यान केन्द्रित हुन थालेको छ ।
लामो समयसम्म पर्यटन तथा प्रकृति संरक्षण अभियानमा जुटेका मेचीनगर ४ वडा कार्यालयका वडाध्यक्ष अर्जुन कुमार कार्की पछिल्लो समय मानव हात्ती मैत्री समाज निर्माण द्वन्द्व रुपान्तरणको एक भरपर्दाे र अचुक उपाय भएको निष्कर्षमा पुगेका छन् ।
वडाले हात्ती मैत्री समाज निमार्णको लागि बिभिन्न समिति र उपसमिति समेत गठन गरेर अभियानको थालनी गरिसकेको वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए । ‘बाहुनडाँगीबासी सधैँ हात्तीसँग त्रसित हुनु परेको छ,’ कार्कीले भने, ‘बाहुनडाँगी बासीको पीडालाई खुसीमा बदल्न हामीले नयाँ अभियानको थालनी गरेका छौँ । अब हात्तीसँग त्रसित हुनु पर्दैन । हात्तीले हामीलाई आर्थिक रुपमा कमजोर होइन समृद्धि दिन्छ ।’
उनले बालीबिमा अभियान सुरु भएपछि समस्या समाधान हुने बताए । ‘बालीबिमा गरेपछि बिभिन्न क्षेत्र र सरकारबाट क्षतिको भरणपोषण हुन्छ । अब बाली लगाए पुग्छ, हात्तीले बाली खाइदियो अब के खाने भन्ने चिन्ता लिनुपर्ने दिन गए । अहिले हात्ती नआओस भनेर धुप हाल्नु परेको छ,’ कार्कीले भने, ‘केही वर्ष पछि हात्ती आइदिए हुन्थ्यो भनेर धुप हाल्ने दिन आउँछ ।’ हात्ती पर्यटनबाट समेत राम्रो आम्दानी लिन सकिने उनको भनाइ थियो ।
बाहुनडाँगीलाई देशकै नमूना वडाको रुपमा विकास गर्ने उद्घोष गरेका वडाध्यक्ष काकीले समाज रुपान्तरणका लागि सबै खाले प्रयासको थालनी गरेका छन् । उनले आफ्ना वडाबासीको स्वास्थ्य शिक्षा र समृद्धिका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । वडाबासीलाई सुख, समृद्धि र पीडाबाट मुक्त नगरी वडा कार्यालयको कुर्सीमा समेत नबस्ने उद्घोष गरेका कार्की हाल गुन्द्रीमा बसेरै वडाको कार्य सम्पादन गरिरहेका छन् ।


सो वडामा हालै हात्तीमैत्री कृषि समुह समेत गठन गरेर सामुहिक तरकारी खेती सुरु गरिएको कृषक समुहका अध्यक्ष देवीप्रसाद आयार्यले बताए । ‘कृषकहरुको जीवनस्तर उकास्न सामुहिक अभियानमा जुटेका छौं,’ आचार्यले भने, हात्ती सँग पौँठेजारी खेलेको बर्षौं भयो तर कसैको जीत भएन त्यसैले अब मिलेरै बस्नु पर्ने भयो । सामुहिक खेती हात्तीको लागि आहार पनि हो हात्ती आएन भने बिक्री गरेर पैसा कमाउँला हात्तीले खाए बिमाले दिन्छ ।’ हात्ती मैत्री कृषक समूहले हालै २ विगाह जमिनमा तरकारी खेती सुरु गरेको उनको उनले बताए ।

मानव हात्ती मैत्री समाज निर्माणको अभियानलाई सार्थकता दिन उज्यालो नेपालले ठूलो सहयोग गरिरहेको वडाले जनाएको छ । उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया निकुन्जका पूर्व वाडेन रमेश थापाले भने, ‘हात्ती रोक्ने धेरै प्रयास असफल भएका छन् । अव बाली बीमा एक बिकल्प देखिएको छ ।’
पश्चिमी क्षेत्रमा यो प्रभावकारी भएकोले बाहुनडाँगीलाई समृद्धि दिन यो कार्यक्रकम प्रभावकारी हुने उनको भनाइ थियो । र्यापिड रेस्पोन्स टिमले हात्ती निगरानी र समाजमा सुरक्षा दिने उनले बताए । उज्यो नेपालले ५० जना र्यापिड रेस्पोन्स टिमको जीवन बिमा समेत गरिदिएको थापाले बताए ।
हात्ती नियन्त्रण र यसको भरपर्दाे व्यवस्थापनको लागि यतिखेर अमेरिका तथा अन्य विभिन देशबाट समेत सरोकारवालाले चासो राखेर बाहुनडाँगी आउनेक्रमले निरन्तरता पाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु