मेचीनगर ९ मा माङहिम उद्घाटन, पूर्वमन्त्रीदेखि पूर्वमेयरसम्म सम्मानित

2023-05-05 मा प्रकाशित

मेचीनगर, वैशाख २२ । किरातेश्वर माङहिम मेचीनगर ९ ले एक कार्यक्रमको आयोजना गर्दै पूर्वमन्त्रीदेखी पूर्वनगरप्रमुख सम्मलाई सम्मान गरेको छ ।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवशरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै किरातेश्वर माङहिमले पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत रहनुभएका नरेन्द्रविक्रम नेम्वाङ, माङहिम मन्दिर निर्माणका निम्त्ति जग्गा दिनुहुने जग्गादाता दम्पती पदमबहादुर योङहाङ र मनमाया योङहाङ तथा मेचीनगर नगरपालिकाका पूर्व नगरप्रमुख बिमल आचार्यलाई सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध मुन्धुम तथा ज्योतिषविद् डा. चन्द्रकुमार शेर्माले खदा ओढाएर सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरु मध्ये पूर्व कानुनमन्त्री नेम्वाङ भने कार्यक्रमस्थलमा उपस्थित हुन सक्नुभएन । कार्यक्रमस्थलमा उपस्थित प्रतिनिधिलाई उहाँको सम्मान प्रदान गरिएको थियो ।

नवनिर्मित माङहिम मन्दिरको समुद्घाटन समेत गरिएको कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक नृत्य तथा परम्परागत चण्डी, साकेला, च्याब्रुङ, केलाङ लगायतका नाचहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथी शेर्माले किराती संस्कार, संस्कृति तथा सभ्यतालाई बचाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । भगवान गौतम बुद्धले देखाउनुभएका मार्गदर्शन समेतको चर्चा गर्दै उहाँले भन्नुभयो ‘हाम्रा मुन्धुम, रितिथिति, संस्कृति, पहिचान बचाउन सबै एकजुट हुनुपर्छ, हाम्रा पुस्ताहरुलाई संस्कार संस्कृतिका बारेमा सिकाउनुपर्छ तब मात्र हाम्रो संस्कार जिवन्त रहन्छ ।’

माङहिमका अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङले प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सम्मानित व्यक्तित्व तथा मेचीनगरका पूर्व नगरप्रमुख आचार्य, सेवा सावा संघका केन्द्रिय सचिव वीरेन्द्र आङदेम्बे, सत्यहाङमा सेवा संघ केन्द्रिय सचिव शिवकुमार साउदेन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न जातजातिको जातीय नृत्य प्रस्तुत गरिएको थियो ।

संस्थाका सल्लाहकार संयोजक प्रेम सम्बाहाम्फेले उपस्थितलाई स्वागत गर्नुभएको कार्यक्रम सदस्य मुकेश लिम्बुको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु