सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिका पुगे ज्येष्ठ नागरिक

2023-05-17 मा प्रकाशित

मेचीनगर, ३ जेठ । मेचीनगर–२ का ज्येष्ठ नागरिकहरु समयमा नै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय ईटाभट्टा पुगेकाछन् ।
आज दिउसो वडा कार्यालयको व्यवस्थापनमा एउटा बस भाडामा रिर्जभ गरेर ज्येष्ठ नागरिकहरु प्लेकार्ड र व्यानरसहित मेचीनगर नगरपालिका कार्यालय पुगेका हुन् ।

वडाध्यक्ष दिपक बरालको निर्देशनमा वडा सदस्य वेनुप राईको नेतृत्वमा भत्ता माग्न ज्येष्ठ नागरिकहरु नगरपालिका पुगेका थिए ।

प्रशासनीय काम छिटो गर, सामाजिक सुरक्षा भत्ता खै रु लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर कार्यालय पुगेका ज्येष्ठ नागरिकहरुलाई नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले माफ माग्दै गल्ती भएको स्वीकारीन् । उनले अब छिट्टै भत्ता उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।

‘हामी सबैको तर्फबाट गल्ती भयो’, उप्रेतीले भनिन्–‘केहि प्राविधिक समस्यका कारण ढिलो भएको हो, कर्मचारी साथीहरु सबैजना त्यस विषयमा लाग्नुभएको छ । भत्ता चाँडै उपलब्ध गराउछौँ ।’

गाउँका आमा–बुबाहरु वडामा आएर भत्ता कहिले आउँछ भन्दै सधैँ आउँने गरेको वडाध्यक्ष बरालले बताए ।

‘भत्ता मात्र होइन, जनताका धेरै गुनासा सुनिरहेका छौँ’, वडाध्यक्ष बरालले भने–‘यहाँबाट धेरै कुरा सम्भव छैन । सबै जसो काम नगरपालिकाले गर्ने हो । हामीले जनतालाई वडामा थामेर राखेका छौँ । आन्तरिक वेथितिले गर्दा नागरिकले सास्ती पाउनु हुन्न ।’

उनका अनुसार नगरपालिकाका कर्मचारीहरुले महिना मर्ने वित्तिकै मोवाइलमा ठिङ्ग मेसेज आउने गरेको छ । तर, राज्यले दिएको सेवा सुविधा दिन किन ढिलाई गर्ने यो जनप्रतिनिधिको प्रश्न हो वडाध्यक्षको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु