अर्थोडक्स र ग्रीन टीसँगै एनएमसीले ल्यायो बजारमा, सिटीसी चिया

2023-06-11 मा प्रकाशित

बिर्तामोड, २८ जेठ । झापाको काँकरभिट्टामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले ‘एनएमसी टी’ ब्राण्डका प्याकेज बजारमा ल्याएको छ । अर्थोडक्स र ग्रीन टी उत्पादन गर्दै आएको एनएमसीले सिटीसी चिया समेत प्याकेजीङ गरी बजारमा ल्याएको हो  ।

एनएमसी ब्राण्डका पाँचसय ग्राम र दुई सय ग्रामका सीटिसी चियाको प्याकेट बजारमा ल्याएको छ।  एनमएमसी बिर्तामोड कार्यालयमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी ब्राण्डका चिया प्याकेट सार्वजनिक गरेका हुन् । उनले चिया पारखीका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रीन टी र सीटिसी चियाका प्याकेटहरु बजारमा ल्याएको बताए । नेपाली बगानमा उत्पादित उत्कृष्ट एवम् ताजा चियाको छनोट गरी विज्ञको परामर्श र रोहवरमा मिश्रण गरी उपभोक्ताको चाहना अनुसारको कडा तथा छिटो रङ आउने चियाका प्याकेट बजारमा ल्याइएको चिया विज्ञ कमल भारतीले बताए । उनले एनएमसी ब्राण्डका चियाको गुणस्तर राम्रो भएको दाबी गरे । चिया पारखीहरुको मागलाई पुरा गर्न सिटीसी चिया बजारमा ल्याएको बताए ।

२०५० सालमा स्थापना भएर एनएमसी सहकारीले हाल पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । त्यसमा २०७८ असारदेखि एनएमसी चिया उद्योग सुरु भएको हो । मेचीनगर−५ स्थित सुरेन्द्रनगरमा एनएमसीको चिया उद्योय सञ्चालनमा छ । चिया व्यवसाय विस्तारका क्रममा २०७८÷०७९ मा इलामका ३ वटा चिया सहकारी संस्थासँग एकीकरण भएको थियो । एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानहरुद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्दै आएको छ । सो आर्थिक वर्षमा ७५ हजार केजी तयारी अर्र्थाेडक्स चिया उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा विक्री गरिएको एनएमसी सहकारीका अध्यक्ष उप्रेतीले बताए । उनले किसानबाट खरिद गरी चिया उत्पादन र विक्री वितरण भइरहेको जानकारी दिए ।

निकट भविष्यमा एनएमसीले मह उत्पादन गर्ने लक्ष्य राखेको छ । एनमएमसी सहकारीका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भगवती घिमिरेले स्वागत तथा सञ्चालन चिया व्यवसाय प्रमुख रविन्द्र पाण्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु