मेचीनगरमा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुँदै

2023-06-14 मा प्रकाशित

मेचीनगर, ३१ जेठ।  झापाको मेचीनगरमा झापा जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय तुर्केनी स्पोर्टस क्लबको आयोजनामा मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको हो । असार एकदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका आठ टिमको सहभागिता रहनेछ । खेल क्षेत्रको विकास सँगसगैँ तुर्केनी खेल मैदानको स्तरोन्नती गर्ने उद्देश्यका साथ शुरु हुने गइरहेको यस प्रतियोगिता सम्पन्न गर्न करिब दुई लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

प्रथम पुरस्कार नगद २५ हजार र दोस्रो पुरस्कार १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र दिने घोषणा गरेको आयोजकले सहयोगबाट उठेको रकममा खर्च कटाएर बचेको रकमले तुर्केनी खेल मैदान स्तरोन्नती गर्ने लक्ष्य राखेको तुर्केनी स्पोर्टस क्लबका अध्यक्ष रामकुमार लिम्बुले बताउनुभयो । यसैगरी आयोजकले ज्येष्ठ भेट्रान खेलाडी, उत्कृष्ट भेट्रान खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायतको अवार्ड पनि प्रदान गर्नेछ । यससगँसगैँ प्रत्येक खेलमा म्यान अफ द म्याचको अवार्ड समेत व्यवस्था गरिएको खेल संयोजक राजु गुरुङले बताए ।

खेल सम्पन्न गर्नका लागि विभिन्न तवरबाट सहयोग मागिरहेको आयोजक संस्थालाई प्रथम पुरस्कारको प्रायोजन काँकरभिट्टा भेट्रान क्लबले गरिदिएको छ भने दोस्रो पुरस्कार मेचीनगर ४ नं वडा कार्यालयले प्रायोजन गरेको छ ।

नयाँ खेलाडी उत्पादन गर्दै खेल क्षेत्रको विकासका लागि यस्ता प्रतियोगिता आयोजना गर्ने उद्देश्य भएपनि पछिल्लो समय युवा जगतको भन्दा पनि भेट्रान फुटबल प्रतियोगिता मात्रै आयोजना हुँदै आएको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेलले बताए । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले खेल क्षेत्रमा आवयश्यक बजेट नहुँदा पछिल्लो समय युथ लेवलको भन्दा पनि भेट्रान लेवलको गेमहरु धेरै आयोजना भइरहेकोे बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका महासचिव बस्नेत ले ‘युवा शक्तिलाई खेल क्षेत्रमा प्रोत्साहित गर्र्न तिनै तहका सरकारले प्रस्ट योजना बनाएर खेल क्षेत्रलाई प्राथमिकतामा नराखे खेलाडी पलायन हुने अवस्था आउने बताए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु