उपयोगी कलासँगै आदर्श माविको प्राङ्गणमा १६४ विद्यार्थीको सामुहिक नृत्य

2023-06-15 मा प्रकाशित

मेचीनगर । यो हो बुद्धको देश नेपाल, ‘गौतम बुद्ध वाज बर्न इन नेपाल’ जस्ता स्लोगान लेखिएको १२० फिट लामो ब्यानरसँगै ठिङ्ग उभिएको ८,८४८ वर्ग इन्चको बुद्धको वृहत् हस्त निर्मित प्रतिमा ।
आदर्श मावि इटाभट्टामा बिहीबार देखिएको दृश्य हो यो । प्रतिभाशाली कलाकार केसाङ लामाले भब्य कार्यक्रमको आयोजना गरी अनौठो कला प्रदर्शन गरे । जहाँ नेपालमा जन्मिएका गौतम बुद्धको दिब्यवाणी, उनका उपदेश झल्काउने विविध साँस्कृतिक तथा चित्रात्मक प्रस्तुतिसँगै उपयोगी कला प्रदर्शन गरिएको थियो ।


कार्यक्रमको उद्घाटन अघि विशाल ब्यानरसहित सयौ सहभागी र्याली इटाभट्टा चोक, नगरपालिका अगाडि पूर्व–पश्चिम राजमार्ग, प्रतिभा चोक परिक्रमा गर्दै विद्यालय परिसर आइपुगेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सामाजिक विकास शाखा प्रमुख हृदय राजवंशीले बुद्धको प्रतिमा अनावरण गर्दै कार्यक्रमको उद्घाटन गरे । स्वागत नृत्यको रुपमा विभिन्न विद्यालयबाट आएका १६४ विद्यार्थी सहभागी ‘यो हो बुद्धको देश नेपाल’ बोलको गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।


विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले स्वागत गरेको कार्यक्रममा वडाध्यक्षहरु कञ्चन तामाङ, अर्जुन कार्की, मेचीनगर शिक्षा शाखा प्रमुुख होमनाथ भण्डारीलगायतले बुद्धको सन्देश छर्ने र बुद्ध जन्मिएको देश नेपाललाई विश्वब्यापीरुपमा चिनाउन कलाकार लामाले गरेको प्रयासको मुक्तकण्ठले प्रसंशा गरेका थिए ।
नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहालले कलाकार लामाको ब्यक्तित्व बारे चर्चा गरेका थिए । कलाकार लामा आदर्श माविका पूर्व विद्यार्थीसमेत हुन् । उनी लामो समयदेखि उपयोगी कलामा कृयाशील छन् । कलामार्फत उनले देशभर अभियान सञ्चालन गर्दै आएका छन् । कलाकार लामाले बुद्धयात्रालाई अभियानको रुपमा सञ्चालन गरिएको बताए । उनले भने, ‘मेचीनगरबाट अभियान सुरु भएको छ, यसलाई लुम्बिनीसँग जोडेर विश्वभर नेपाललाई चिनाउने हाम्रो प्रयास हो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु