वडा नं ९ वडाले गर्यो योजना संकलन सुझाव

2023-06-18 मा प्रकाशित

धुलाबारी, ३ असार । मेचीनगर वडा नं ९ वडा कार्यालयले आगामी प्रस्तावित योजनाका बारेमा सुझाव संकलन गरेको छ ।
आइतबार धुलाबारीस्थित वडा कार्यालयमा आयोजित छलफल कार्यक्रममा आगामी योजनाका विषयमा छलफल गरेको हो । चालु आर्थिक वर्ष २०७९−०८० मा सम्पन्न योजनाका बारेमा वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी गराए । चालु वर्षमा वडा कार्यालयले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका योजनाहरु सम्पन्न गरेको वडाध्यक्ष तामाङले बताए ।
उनले आर्थिक वर्ष २०८०−८१ को बजेट सिलिङ घटेकाले आवश्यकताका आधारमा योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षका लागि वडाको बजेट ६० लाख विनियोजन गरिएको छ । यसअघि वडाको बजेट १ करोड रुपैयाँ विनियोजित थियो ।
विकासका कार्यक्रमलाई यसअघि र आगामी वर्षमा पनि सन्तुलित ढंगबाट अघि बढाइने उनले बताए । आगामी वर्षका लागि वडाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएर योजना सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा जानुका ओली, टिआर रिजाल, बिरबहादुर बुढाथोकी, जयप्रसाद आचार्य लगायतले सुझाव दिएका थिए । वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य सुष्मा कार्की डोलीले गरेकी थिइन् । वडा सदस्य धनकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा वडा सचिव सुरेश घिमिरे, वडा सदस्य करुणा राजवंशी, राजन खड्का, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु