लकडाउनले कामकाजी बनायो मेचीनगरका ढुंगानालाई

2020-04-20 मा प्रकाशित

डम्बर बराल
मेचीनगर÷ बैदेशिक रोजगारीका क्रममा ७ वर्ष मलेशियामा जीवन बिताएर घर फर्किएका मेचीनगर–५ का सूर्य ढुंगाना ब्यावसायिक बाख्रापालनमा होमिएका छन् ।
कडा मेहनत गरी पैसा कमाउने र परिवारलाई सुख दिने सोच बनाएर मलेसिया पुगेका उनले होटलमा ७ वर्षसम्म काम गरेका थिए । तर, कम्पनीले सम्झौता अनुसारको काम र पैसा नदिएपछि नेपाल फर्किएका ढुंगानाले घर आएलगत्तै होटल व्यवसाय सुरु गरेका थिए ।
केही न केही नगरी नबस्ने र कर्ममा विश्वास गर्ने श्रमजीवि उनलाई होटल व्यवसायबाट सोचेजस्तो आम्दानी भएन । त्यसपछि उनले होटल ब्यवसाय छाडेर जग्गा खरिद बिक्रीको काम थाले । तर, यो व्यवसायबाट समेत सोचे अनुसारको सफलता नमिलेपछि ढुंगाना अहिले व्यावसायिक बाख्रा पाल्न थालेका हुन् ।
कोरोना सन्त्रासका कारण सरकारले लक डाउनको घोषणा गरेको छ । बन्दाबन्दीका कारण सम्पूर्ण पेशा र व्यवसाय संकटमा परिरहेका बेला उनी भने आफ्नो कोठेबारी र बाख्रा गोठमा ब्यस्त छन् । बिहान उठेर बाख्राको खोर सफा गर्नु, खोले खुवाउनु, घाँसको जोहो गर्नु, बाख्राको स्याहार चाकर गर्नु लक डाउनमा उनको दैनिकी बनेको छ । उनले थालेको नयाँ व्यवसायमा श्रीमती रञ्जु, ज्वार्इँ सुमन खड्का, बहिनी र आमाले पनि उत्तिकै सघाउँदै आएका छन् ।
२ महिनाअघि करिब २ लाख ५० हजार रुपैयाँको लागतमा सुरु गरिएको बाख्रा फर्ममा हाल ३० वटा माउ र पाठापाठी छन् । “अरु व्यवसायमा जोखिम धेरै पाएँ, कृषि र बाख्रा पालनमा उति समस्या छैन” ढुंगाना भन्छन्–“त्यसैले, अब व्यावसायिक बाख्रापालन सुरु गर्ने योजना बनाएको हुँ ।” उनले थपे–“अब लगानी बढाएर आउँदो जेठसम्ममा २० वटा बाख्रा थप गरेर ५० वटा पुर्याउने सोचमा छु ।”
अहिले बन्दाबन्दीका कारण बाख्रालाई खुवाउने चोकर, दाना र औषधिको अभाव हुँदा समस्या भएको उनको भनाई छ । “पशु औषधि पसल बन्द छन्, भेटनरी डाक्टरहरु फोन रिसिव गर्दैनन्, समस्या औषधि र दानाको छ”–उनी भन्छन् ।
अहिले बाख्रालाई डाले घाँस र मकैको कुटी खुवाउने गरिएको र आफ्नो व्यवसायमा जोखिम हुन नदिन सबै बाख्राको बीमा गरिएको उनले बताए । आँफुले ब्यावसायीक बाख्रा पालन सुरु गरेपछि आफ्ना साथीहरुलाई समेत बैदेशिक रोजगारीको मोह त्यागेर स्वदेशमै स्वरोजगार बन्न सुझाव दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु