डम्बर बराल
मेचीनगर । हरेक वर्ष झँै यस वर्षपनि मेचीनगर –८ का रमेश कुमार तामाङ्गले १७ कठ्ठा जमिनमा मकै खेती लगाए । मकै खेती राम्रैसँग उत्पादन गर्ने सोचका साथ उनले गोवरमल र डिएपी मल किनेरै प्रयोग गरे । सुरुमा रामैसँग मकै उम्रीएको देखेर उत्साहित बनेका उनी यतिखेर भने निराश बनेका छन् ।
लामो समय सम्म परेको खडेरीको कारण उनले लगाएको मकै खेती सुकेर बात्ती हुन थालेपछि उनको खुसी खोसिएको हो । उनले मकै उम्रीए पछि पहिलो पटक गोडमेल गर्न खेतला समेत लगाए । खेतला लगाउँदा पनि राम्रै खर्च भयो । सुरुमा लह लह आएको मकै देख्दा रमेशले धेरै कुरा कल्पिए । मकै बेचेर चामल किन्ने अनि गाईको लागि खोले समेत राम्रै ब्यवस्था होला भन्ने सोचेका रमेशलाई अव कसरी ब्यवहार मिलाउने भन्ने चिन्ता छ ।उनले यतिखेर सुक्न थालेको मकै काटेर गाईलाई घास खुवाउन थालेका छन् । ‘सुत्ला लागेको मकै सुकेर कामै नलग्ने भयो,’उनले भने, ‘अलि अलि सुक्न थालेको मकै गाईलाई घाँसको रुपमा काट्दैछु । सुकिसकेको मकै घाँस पनि भएन, नत बाख्राले खायो नत गाईले नै ।
सोही वडाका हेमनारायण धिमालले आफ्नो चार कठ्ठा जमिनमा मकै खेती गरेका छन् । मकै रोप्दा डिएपी मल र कुखुराको सुली हालेर मकै रोपेपछि उनको मकै राम्रैसँग उम्रीयो उनले मकै फालाउन रामैसँग मेहेनत पनि गरे । खेतला लगाएर गोडे । मकै रहरलाग्दो भएर आयो । तर यतिखेर उनलाई मकै बारीमा पुग्नै मन छैन । खडेरीका कारण मकै सुकेर पराल जस्तै बने पछि उनको कृषि कर्मको उत्साह निराशामा बदलिएको छ । ‘मकै रोप्दा राम्रै खर्च भयो, खर्च उठने त कुरै भएन ।,’ उनले भने, ‘अव नत गाईलाई घाँस भयो, नत आँफूले नै खानपाइयो । रमेशको मकै खेती मात्र होइन खडेरीका कारण तरकारी खेती समेत सुकेर मर्न थालेको छ ।
लामो समय सम्म पानी नपरेपछि रमेश र हेमनारायणको मात्र होइन यतिखेर झापा जिल्लाका अधिकांश किसानको मकै खेती सुकेर बाती झैँ बन्दै गएको छ । ‘पानीको अभावमा कृषि उत्पादन सम्भव छैन,’ हेमनारायणले भने, ‘हामी आँफैले बोरिङ राख्न सकिँदैन स्थानीय सरकारले बोरिङको ब्यवस्था गरिदिए ब्यावसायिक कृषि उत्पादनमा किसानको उत्साह बढ्ने थियो ।’ पछिल्लो समय ब्यावसायिक कृषिमा धेरै किसानले उत्साहका साथ काम गर्दै आएको भएपनि किसानको समस्यामा सरकार उदार देखिएको छैन । आफ्नो बल बुताले भ्याएसम्म कृषकले खेती गर्दै आएका छन् तर उत्पादनले साखै बजार पाउन सकेको छैन । उत्पादन गरेका कुनै पनि फसल पाकेर किसानलाई घरमा भित्राउन निक्कै हम्मे– हम्मे पर्ने गरेको मेचीनगर –५ का कुलबहादुर बुढाथोकीले बताए । बाली लगायो के गर्नु उत्पादन भित्राउन पाइँदैन । कि त प्रकृतिले साथ दिँदैन । प्रकृतिले साथ दियो भने जंगली जनावरले सखाप पारिदिन्छ । अनि के गरी जीवन निर्वाह गर्ने । उनले मकै बाली रोप्न छाडे कै ३ वर्ष भयो । मकै फल्ने बेलामा बाँदर आएर मकै नष्ट गर्न थालेपछि उनले मकै नै रोप्न छाडेका हुन् । सो क्षेत्रमा कुलबाहदुर जस्तै धेरै किसानले मकै रोप्न छाडेका छन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएको भएपनि यसवर्ष थप स्तिार भएको बताए । सिँचाई हुने ठाउँमा र बोरिड गाडिएको क्षेत्रमा राम्रै मकै फल्यो तर सिँचाईको अभाव भएको क्षेत्रमा भने मकै कामै नलाग्नेगरी सुक्न थालेको उनले बताए । लामो समय सम्म खडेरी परेपछि किसानले यतिखेर सनसारी पूजा गर्ने तथा भ्यागुताको विवाह समेत गरेर पानी पार्नको लागि भगवनको स्तुती समेत गर्न थालेका छन् ।
प्रतिकृया दिनुहोस्