बालकल्याण माविको शिक्षक–अभिभावक संघमा पुनः सुभाष लिम्बू

2026-10-05 मा प्रकाशित

मेचीनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा सुभाष लिम्बू पुनः सर्वसम्मत चयन भएका छन् ।

हालै सम्पन्न शिक्षक–अभिभावक संघको भेलाले लिम्बूलाई पुनः अध्यक्षमा चयन गरेको हो । नवगठित समितिका सदस्यमा बिन्जिता तामाङ, सीता निरौला भट्टराई, सीता पौडेल, जानुका गिरी, शर्मिला श्रेष्ठ, हर्कबहादुर लिम्बू, मञ्जु रसाइली र मीना कुमारी चेम्जोङ रहेका छन् । चेम्जोङ विद्यालय व्यवस्थापन समितिकी अध्यक्षका हैसियतले पदेन सदस्य रहेकी हुन् । त्यस्तै, शन्तलाल माझी शिक्षक प्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपाने सदस्य–सचिव चयन भएका छन् ।

शिक्षक–अभिभावक संघका अध्यक्ष सुभाष लिम्बूको सभापतित्व तथा मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको भेलामा प्रमुख अतिथि कार्कीले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । विद्यालयका अक्षयकोषदाता ज्योतिप्रकाश पाठकले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र समुदाय सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मीना कुमारी चेम्जोङ, मेचीनगर नगर कार्यपालिका सदस्य माया प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रंगलाल गिरीलगायतको आतिथ्यता रहेको थियो । विद्यालयका प्रावि इन्चार्ज शन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु