मेचीनगर । झापाको मेचीनगर–८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माध्यमिक विद्यालयले बिहीबारदेखि ‘एभरेष्ट संवाद शृङ्खला’ सुरु गरेको छ ।
विभिन्न क्षेत्रका सरोकारवाला तथा शिक्षासेवीसँग अन्तरसंवाद गर्ने उद्देश्यले विद्यालयले संवाद शृङ्खला सञ्चालनमा ल्याएको हो । कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गर्नुभएको थियो ।
कार्यक्रमअन्तर्गत आयोजित अन्तरसंवादमा नगरप्रमुख बुढाथोकीले आफ्नो बाल्यकाल, शैक्षिक तथा राजनीतिक जीवनका संघर्ष र शैक्षिक क्षेत्रको विकासमा आफूले खेलेको भूमिकाबारे अनुभव सुनाउनुभयो । उहाँले जीवनका विभिन्न आरोह–अवरोह र संघर्षका कथा प्रस्तुत गर्नुभयो ।
अन्तरसंवादको सहजीकरण विद्यालयकी कक्षा ९ की छात्रा आचल बुढाथोकीले गर्नुभएको थियो । उहाँले नगरप्रमुख बुढाथोकीलाई उत्साहपूर्वक विभिन्न प्रश्न सोध्नुभएको थियो । विद्यार्थीका प्रश्नको जवाफ दिँदै नगरप्रमुख बुढाथोकीले विद्यालयले सुरु गरेको यस किसिमको नवीन कार्यक्रमले समाज र विद्यालयबीचको सम्बन्धलाई थप सुमधुर, मजबुत र गतिशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका कोअर्डिनेटर रुपसागर अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिक क्षमताको विकास गर्नाका साथै विगत र वर्तमानबीचको अन्तर बुझ्न तथा अग्रजका जीवनभोगाइबाट सिक्न सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालयस्तरमा यस किसिमको संवाद कार्यक्रम जिल्लामै पहिलो भएको दाबीसमेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्