मेचीनगरमा माझी समुदायको कोसी पूजा सम्पन्न

2022-01-29 मा प्रकाशित

मेचीनगर । नेपाल माझी उत्थान संघ मेचीनगर समितिले शनिवार विविध कार्यक्रमको साथ कोसी पूजा तथा भिमसेन थान पूजा सम्पन्न गरेको छ । समितिले मेचीनगर–८ भिमसेन थानमा विविध कार्यक्रमका साथ पूजा सम्पन्न गरेको हो ।

प्रकृति पूजक माझी समुदाय बिहान ९ बजेदेखि नै पूजा आराधनामा सहभागी बनेका थिए । उनीहरुले स्थानीय घैलाडुब्बा खोलामा पुगेर जलदेवता अर्थात नदीको पूजा गरेका थिए । त्यसपछि भिमसेन थानमा पुगरे इष्टदेवताको पूजा आराधना गरे ।

पूजाको कार्यक्रमपछि आयोजित औपचारिक कार्यक्रममा मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालले माझी समुदायले आफ्नो भाषा, भेषभुषा तथा संस्कृतिको संरक्षणमा जुट्नु पर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धिमालले सबै जातजातिको भाषा संस्कार र संस्कृतिको संरक्षमा स्थानीय सरकारले सहयोग गरिरहेको र माझी समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘स्थानीय सरकार सहयोग गर्न तयार छ । तर तपाईंहरु संस्कृति र पहिचान जोगाउन क्रियाशील हुनुपर्छ ।’

कार्यक्रमका विशेष अतिथि माझी संघ झापाका अध्यक्ष कृष्ण माझीले माझी समुदायको भाषा संस्कार र संस्कृति ओझेलमा परेकाले आफूहरु त्यसको संरक्षणमा जुटिरहेको बताए । उनले माझी समुदायले मनाउने गरेको कोसी पूजामा सरकारले बिदा नदिएर अन्याय गरिरहेको बताउँदै आगामी दिनमा बिदा दिन माग गरे ।

कार्यक्रममा किरात याक्थुम चुम्लुङका केन्द्रीय सल्लाहकार जीतबहादुर लावती, नेपाली काँग्रेस मेचीनगर ८ का सभापति गिरीराज धमाला, नेकपा एमालेका वडाअध्यक्ष बिष्णु भट्टराई, मेचीनगर ८ का वडा सदस्य तथा मेचे समाज शिवियारी आफतका केन्द्रीय उपाध्यक्ष सन्तोष मेचे,  वडा सदस्य गंगाप्रसाद पाठक, स्थानीय समाजसेवी राजनकुमार गिरीलगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले एकल तथा सामुहिक नृत्य गायन प्रस्तुत गरेका थिए ।

नेपाल माझी उत्थान संघ मेचीनगर अध्यक्ष सन्तलाल माझीको सभापतित्व रहेको कार्यक्रमका मेचीनगर ८ का पूर्व वडाध्यक्ष राजकुमार गिरी, मेलमिलाप समितिका सदस्य डम्बरबहादुर पुरी लगायतको आतिथ्यता रहेको थियो । नगर सदस्य विनिता माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रभु माझी र सदस्य मेनुका माझीले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु