बेखर्ची र मजदुरको सहयोगमा मेचीनगर नगरपालिका

2020-04-20 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर नगरपालिका भारत छिर्ने मुख्य नाका हो । यो नाका भएर भारतका विभिन्न राज्यसँगै वंगलादेश र भुटान जाने गरिन्छ । कोराना त्रासले अहिले यो नाका सिल छ ।

नेपालका विभिन्न ठाउँमा काम गर्ने भारतीय मजदुर लकडाउनका कारणा पनि मेचीनगर नाकामा रोकिए । उनीहरूलाई भारत जान पाएनन् । बरू उनीहरूको खानापान र बसोबासको जिम्मेवारी स्थानीय तहले लियो ।

आफ्नो देश जाने भनेर विभिन्न जिल्लाबाट हिँड्दै मेचीनगर आइपुगेको ४६ जना भारतीय मजदुरलाई मेचीनगर–२ स्थित जनसाधारण माविको क्वारेन्टाइनमा राखिएको छ । उनीहरू क्वारेन्टाइनमा बसेको २० दिन बितिसक्यो । सीमा नखुलेसम्म उनीहरू यहीँ बस्ने नगरपालिकाले जनाएको छ । उनीहरूको खाने बस्ने खर्चको जिम्मेवारी मेचीनगर नगरपालिकाले लिएको नगरपालिकाका कार्यपालिका सदस्य तथा विपद् व्यवस्थापन समिति संयोजक टीकाराम मंग्रान्तीले बताए ।

 

‘उहाँहरू भारतीय नागरिक हुनुहुन्छ । तर उहाँहरूको बस्ने र खाने व्यवस्थापन गर्नु मानवीयताका हिसाबले पनि हाम्रो जिम्मेवारी हो,’ उनले भने,‘हामीलाई सहार नेपाल साकोसले ५० हजार बराबरको खाद्यान्न दियो । बाँकी व्यवस्थापन नगरपालिकाले नै गरेको छ । उहाँहरू बसुञ्जेल गर्छ ।’

यस्तै, भारतका विभिन्न ठाउँबाट नेपाल फर्किएका विभिन्न जिल्लाका नागरिक मेचीनगरले नै राखेको छ । यसरी भारतबाट आएका २३ जनालाई धाइजन र आदर्श मावि इँट्टाभट्टाको क्वारेन्टाइनमा राखिएको मंग्रान्तीले बताए । उनीहरूको सम्पूर्ण खर्चको व्यवस्थापन नगरपालिकाले नै गरिरहेको उनको भनाइ छ । ‘उहाँहरूको क्वारेन्टाइन अवधि सकियो । तर, लकडाउनका कारण घर जानसक्नु भएको छैन’, उनले भने, ‘त्यसैले उहाँहरूको अभिभावकत्व नगरपालिकाले गरिहेको छ ।’

बेखर्चीको उद्धार
प्युठानका किशोर मल्लसहित ६४ जना काँकडभिट्टाका विभिन्न जिल्लामा बन्धक झैँ २० दिन बिताए । लकडाउनको अघिल्लो दिन उनीहरू भारतबाट नेपाल आइपुगेका थिए । तर, भोलिपल्टै लकडाउन भएपछि उनीहरू विभिन्न होटलमै अड्किए । उनीहरूले बोकेको खर्च सबै सकिइसकेको थियो । घर जान सक्ने अवस्था थिएन ।

बेर्खचीको सहारा बन्यो मेचीनगर नगरपालिका । उनीहरूलाई घरसम्म पुग्नका लागि गाडीको व्यवस्थापन गरिदियो । त्यसका लागि नगरपालिकाले एक लाख ५६ हजार खर्चिएको मंग्रान्तीले जानकारी दिए ।

व्यवसायी पनि उदार

लकडाउनका कारण काँकडभिट्टाका होटलमा रोकिएका ६४ जनालाई व्यवसायीले खाना खुवाए । उनीहरूलाई होटल व्यवसायी संघ मेचीनगरले पाँच दिन खाना खुवाएको संघका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । उनीहरूले होटलमा खाएको र बसेको करिब पाँच लाख उधारोसमेत बाँकी नै भएको उनले बताए । ‘तत्काल उहाँहरूसँग पैसा थिएन’, उनले भने, ‘पछि दिन्छौं भन्नुभयो । कसैले नागरिकता पनि छाड्नु भएको छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु