सुरु भयो ‘हात्तीमैत्री पदयात्रा’ मुख्यमन्त्रीलाई बाहुनडाँगीबासीले बुझाए ११ बुँदे ज्ञापन पत्र

2024-02-21 मा प्रकाशित

बाहुनडाँगी, ९ फागुन । कोशी प्रदेशका मुख्य मन्त्री केदारकार्कीले हात्तीको समस्या समाधानकोलागि आजबाट ‘हात्तीमैत्री पदयात्रा’ सुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासाथ झापाको बाहुनडाँगी स्थित प्रसाद गौँडाकाबाट सुरु भएको पद यात्रा फागुन १६ गते उदयपुरको कटारी पुगेर सम्पन्न हुने छ ।
कार्यक्रममा कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, प्रदेश सांसद सबिना बजगाई, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वतावरण संरक्षण मञ्चका अध्यक्ष सागर कार्कीलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा हात्ती पीडित बाहुनडाँगीबासीले मुख्यमन्त्री केदार कार्कीलाई ११ बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् ।

नागरिक समाजका अध्यक्ष एवम् बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष निलकण्ठ तिवारीले मुख्यमन्त्री कार्कीलाई मागपत्र बुझाउँदै माग पूरा गर्न प्रदेश सरकार र स्यवम् मुख्यमन्त्री गम्भीर बन्नु पर्ने बताए ।

हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा लगाइएको सौर्य विद्युतीय तारबार मर्मत, सम्भार र संरक्षणका लागि नियमित बजेटको व्यवस्था गरिदिनु पर्ने बाहुनडाँगीबासीको पहिलो माग छ ।

यसैगरी, सीमामा लगाइएको तारबार छेउको पहुँच मार्गलाई स्तरोन्नति गर्न बिनियोजन गरिएको रु. २५ लाख बजेट अपुग भएकाले थप बजेटको व्यवस्था शीघ्र गरिदिनु हुन र हात्तीलाई बासस्थानमा फर्काउन स्कर्टिङ भेहिकलको व्यवस्था गरिदिन उनीहरुको दोस्रो माग रहेको छ ।

हात्ती प्रभावित बस्तीमा चम्किलो बत्तीको व्यवस्था गर्न, हात्तीले नखाने बनस्पति रोप्नका लागि सामुदायिक बनहरुलाई समन्वय गर्न, बाली लगायतको क्षतिपूर्तिका लागि बिमाको पहल गरिदिन, चिया लगायतका बैकल्पिक बालीको प्रवर्धन र बजारिकरणको व्यवस्था गरिदिन, सामूहिक खेतीका लागि बजेट व्यवस्था गरिदिन, जनताको तटबन्धन कार्यक्रमलाई निरन्तरता दिन, ऐलानी जग्गामा भएको क्षतिको समेत राहत उपलब्ध गराउन, सौर्य तारबार र हात्तीलाई बासस्थानमा फर्काउन खटिने जनशक्तिलाई पारिश्रमिकको व्यवस्था गर्न, एक्ले हात्तीहरुलाई रेडियो कलर लगाउने र आवश्यक परे स्थानान्तरण गर्ने व्यवस्था मिलाउन र मेचीनगर–४ लाई मानव–हात्ती सहअस्तित्वको असल पाठशालाको रुपमा नमुना गाउँ बनाउन बाहुनडाँगी बासीले माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु