बौद्धमोड । नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिको आयोजनामा स्व. दुर्गाप्रसाद निरौला तथा स्व. रामकुमारी अधिकारीको स्मृतिमा बौद्धमोड फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर मंसिर १७ देखि २५ गतेसम्म झापाको बौद्धमोडमा प्रतियोगिता सञ्चालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
समाजमा खेलप्रतिको चासो बढाउँदै खेलकुदको विकास, युवाको प्रतिभा र पहिचान स्थापित गर्नुका साथै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक साङ्ग्रीला लामाले प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी आठ टोली सहभागी हुने जानकारी दिए । उनका अनुसार उद्घाटन खेलमा बौद्धमोड युवा क्लब र न्यू स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंसिर १८ गते शनिश्चरे फुटबल क्लब झापा र त्रिवेणी युवा क्लब, १९ गते रोथखोला फुटबल एकेडेमी र मनोकामना युथ क्लब तथा २० गते बाहुनडाँगी युवा क्लब र ब्रदर्स युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल मंसिर २२ र २३ गते तथा फाइनल खेल मंसिर २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ध्रुव निरौला र दोस्रो पुरस्कार चन्द्रशेखर अधिकारीले प्रदान गर्ने भएका छन् । दुवै पुरस्कार स्व. दुर्गाप्रसाद निरौला र स्व. रामकुमारी अधिकारीको स्मृतिमा उनीहरूका छोराले प्रदान गर्न लागेका हुन् । प्रतियोगिता सम्पन्न गर्न ७ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको ट्राइसिटसमेत पत्रकार सम्मेलनमा गोलाप्रथाबाट तयार गरिएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष अशोक चम्लागाईं, सचिव मनोज काफ्ले, कोषाध्यक्ष अनिल चम्लागाईं, सदस्य दीपेश खड्का, प्रेमा तामाङलगायत स्थानीयको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न अखिल नेपाल फुटबल संघ (एन्फा), झापा जिल्ला फुटबल संघ, स्थानीय नगरपालिका, वडा कार्यालय, व्यवसायी तथा सहयोगी दाताहरूसँग आर्थिक र अन्य आवश्यक सहयोगका लागि आग्रह गरिएको समितिले जनाएको छ ।
कार्यक्रमको सहजीकरण गर्दै नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिका अध्यक्ष तथा समाजसेवी सचिन निरौलाले बौद्धमोडका जागरुक युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । प्रतियोगिताबाट बचत भएको रकम संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्