टाइब्रेकरमा कनकाईलाई हराउँदै भद्रपुर क्वाटरफाइनलमा

2026-11-27 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा खेलमैदानमा जारी जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै भद्रपुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुरले कनकाईलाई ४–३ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताको दोस्रो दिन बिहीबार भएको खेलमा कनकाई र भद्रपुरबीच प्रतिस्पर्धा भएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो, जसमा भद्रपुर विजयी बन्यो । हारसँगै कनकाई प्रतियोगिताबाट बाहिरिएको छ । टाइब्रेकरमा भद्रपुरका अनुस्का मगर, बिरा हस्ता, विपसा धिमाल र पूजा रसाइलीले गोल गरे । नुमा लिम्बूको प्रहार भने कनकाईकी गोलरक्षक सुम्निमा लिम्बूले रोकिन् ।

कनकाईका तर्फबाट अञ्जली चन्द, सोनिका चौधरी र बिनिसा श्रेष्ठले गोल गरे । मोनिका राईको प्रहार पोस्टबाहिर गएको थियो भने ममता बस्नेतको प्रहार भद्रपुरकी गोलरक्षक वर्षा तामाङले रोकिन् । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भद्रपुरलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी गोलरक्षक वर्षा तामाङ हुमेन अफ द म्याच घोषित भइन् । उनले नगद एक हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरिन् । शुक्रबार आयोजक मेचीनगर नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु