बाह्रदर्शीलाई १४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै मेचीनगर सेमिफाइनलमा प्रवेश

2026-11-27 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा जारी जिल्लास्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगितामा बाह्रदर्शी गाउँपालिकालाई पराजित गर्दै मेचीनगर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको तेस्रो दिनको खेलमा मेचीनगरले बाह्रदर्शीलाई १४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

काँकरभिट्टा खेलमैदान जारी प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा आयोजक मेचीनगरसामु बाह्रदर्शी कमजोर देखियो । आक्रमक खेलेको मेचीनगरले खेलको पहिलो हापमै बाह्रदर्शीको पोसमा आठ गोल लगायो । मेचीनगरको जीतमा नेहा मास्केले व्यक्तिगत ७ ग‍ोल गर्दा रेखा बिष्ट र सम्झना कार्कीको दुई-दुई तथा नयन राई, सुशील कार्की र खुशी राईले एक- एक गोल गरे । प्रतियोगितामा उत्कृष्ट खेल्दै टिम जिताउने मेचीनगरकी नेहा मास्के हुमेन अफ द म्याच घोषित भइन् । उनले एक हजार पाँच सय नगदसहित ट्रफी प्राप्त गरिन् ।

शनिबारको खेल अर्जुनधारा नगरपालिका र कचनकवल गाउँपालिका बिच दिउँसो ३ बजेदेखि हुने आयोजक महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरूङले जानकारी दिइन् । प्रतियोगितामा झापाका ९ वटा पालिकाका टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु