मेचीनगर । मेचीनगरस्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा ७४.१३ प्रतिशत मत खसेको छ। कुल एक हजार २६४ मतदाता रहेको समूहमा ९३७ जनाले मतदान गरेका हुन्।
मेचीनगर–१३ र १४ का उपभोक्ता समेटिएको वन समूहमा ९ (क) वर्गअन्तर्गत मेचीनगर–१३ का उपभोक्तालाई मात्रै मतदानको अधिकार रहेको थियो। निर्वाचन समितिका संयोजक खगेन्द्र सिग्देलका अनुसार शनिबार बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ। मतगणना शनिबार साँझ ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्ष पदका लागि प्रकाश राई, यमकान्त प्याकुरेल, सरनकुमार लिम्बू र सोनामसिंह तामाङ प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा ताराप्रसाद तिवारी र रामकान्त पौडेल तथा सहसचिवमा रुद्रबहादुर कार्की, सञ्जय राई र सलोभ सांवा लिम्बू उम्मेदवार छन्।
त्यस्तै, कोषाध्यक्षमा कुसुम कटुवाल र सुनिता भुर्तेलबीच प्रतिस्पर्धा छ। खुला सदस्यका तीन पदका लागि ईश्वर भुर्तेल, गोपीकृष्ण गौतम, देवीप्रसाद सापकोटा, पूर्णप्रसाद मिश्र, प्रकाश बराल, विष्णुबहादुर कार्की र हेमराज भट्टराई चुनावी मैदानमा छन्।
लेखा समिति संयोजकमा तेजप्रसाद सिग्देल र दिवाकर बराल तथा सदस्यमा दामोदर घिमिरे र फडिन्द्र भट्टराई प्रतिस्पर्धामा छन्।
नयाँ नेतृत्वका लागि वन संरक्षण, आर्थिक पारदर्शिता, दिगो व्यवस्थापन तथा पर्यापर्यटन विकास मुख्य चुनौती र अवसरका रूपमा रहेका छन्। विशेषगरी करोडौँको लगानीमा निर्माण गरिएको निचाझोडा सिमसार क्षेत्रको पुनःव्यवस्थापन र वनको आम्दानी वृद्धि आगामी नेतृत्वका लागि महत्त्वपूर्ण जिम्मेवारी हुने देखिएको छ।

प्रतिकृया दिनुहोस्