मेचीनगरलाई दुईवटा संस्थाले दिए स्वास्थ्य समग्री

2021-06-11 मा प्रकाशित

मेचीनगर, २८ जेठ÷ कोभिड महामारीका कारण बखत नियन्त्रण र रोकथाममा सघाउ पुगोस भन्ने उद्घेश्यले दुईवटा संस्थाले मेचीनगर नगरपालिकालाई स्वास्थय सामग्री प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले स्वास्थय सामग्री उपलब्ध गराएका हुन् ।

संस्थाको ८ औँ स्थापना दिवसको अवसर पारेर प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मेचीनगर नगरपालिकालाई पिपिइ, भिटिएम किट, एन्टिजेन्ट किट, ग्लोब्स, एन ९५ मास्क , सर्जिकल माक्स, फेस सिल्ड, सेनिटाइजर तथा कोरोना उपचारमा प्रयोग हुने औषधि हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

मेचीनगर नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले ती सामान ग्रहण गरेको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । यसैगरी, संस्थाले झापाको मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले बताइन् । उनका अनुसार स्थानीय सरकारलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा पल्स अक्सिमिटर ५ थान, पीपीई ४० थान, थर्मल गन १ थान, फेस सिल्ड ४० थान, स्टिमर ५ थान, सर्जिकल मास्क २५ सय, सेनिटाइजर १० थान, गमबुट ५ जोर, थर्ममिटर १० थान, झुल १० थान र साबुन ५० थान रहेको छ ।

तीनवटै नगरपालिकालाई बराबरी परिमाणमा स्वास्थ्य सामग्री उपलश्ध गराईएको हो । यस्तै, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले झापाका विभिन्न पालिकाका विपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले झापा गाउँपालिकाका २३ घरपरिवार, मेचीनगरका २० र बाह्रदशी गाउँपालिकाका ७ परिवारलाई खाद्यान्न सहयोग गरिएको स्रोतव्यक्ति थापाले जानकारी दिए । उनले अन्य तवरबाट पनि विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिदै आएको बताए । खाद्यान्न सामग्री प्रतिपरिवार चामल २५ केजी, २ केजी तेल, २ केजी दाल, २ पोका नून, ५ थान साबुन, १ बोतल सेनिटाइजर र ५० वटा सर्जिकल मास्कका दरले उपलब्ध गराइएको हो ।

यसैगरी, अन्तर्राष्ट्रिय झापाली समाज (अझास)ले पनि मेचीनगर नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजले ७० वटा भिटिएम, ५ सय वटा सर्जिकल मास्क, २० वठा पीपीइ सेट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले प्रदान गरेको ती सामग्री नगरप्रमुख विमल आचार्यले ग्रहण गरेका थिए । विपतका बखत दुवै संस्थाले मेचीनगर र नगरवासीहरुप्रति देखाएको सदासहायताप्रति नगरप्रमुख विमल आचार्यले धन्यवाद व्यक्त गरे ।

समाजले एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागिे एक सयवटा सिलिन्डरबापतको १५ लाख रुपैयाँ प्रदान गरेको थियो । अभियानको मुख्य साझेदारको रुपमा रहेको समाजले अक्सिजन बैंक उद्घाटनको अवसरमा बुधबार सहारा नेपालको केन्द्रीय कार्यालय चारपानेमा उक्त रकमको चेक प्रदान गरेको हो ।

समाजको तर्फबाट उपाध्यक्ष नवीन पोखरेलले १५ लाख रुपैयाँको चेक कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गर्नुभएको थियो । समाजले अभियान र स्थानीय पालिका तथा प्रशासनलाई सहयोग हस्तान्तरण र समन्वयका लागि पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको छ । विश्वका ४२ वटा देशमा समाजअन्तर्गत राष्ट्रिय समिति रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थापनमा आवश्यक हुने ब्याग, फेस सिल्ड, पिपिई लगायतका सामग्री हस्तान्तरण गरिएको छ । प्रजिअ तिमिल्सिनालाई उपाध्यक्ष पोखरेलले उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय समितिका प्रतिनिधिहरु भीम पोखरेल, दुर्योधन कार्की, एकका लागि एक अभियानको तर्फबाट शिव कँडेल लगायतको सहभागिता थियो ।

कोरोनाविरुद्धको लडाइँमा सहयोग पु¥याउन तथा कसैले अक्सिजन र आवश्यक उपचार अभावमा जीवन गुमाउनु नपरोस् भनेर सहयोग प्रदान गरिएको अस्ट्रेलियामा रहेका समाजका संरक्षक दिनेशकुमार पोखरेलले बताए । उनले समाजद्वारा प्रदान गरिएको सहयोगको सही ठाउँमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै संकटको घडीमा झापालीहरुको एकताप्रति खुसी व्यक्त गरे । समाजले यसअघि पिसिआर ल्याब स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु