ढुंगागिटी प्रकरण, ५ राजनीतिक दलहरुले बुझाए मेचीनगरमा संयुक्त ज्ञापन , दोषीलाई हदै सम्मको कारवाही गर्न माग

2021-06-11 मा प्रकाशित

डम्बर बराल

मेचीनगर, २८ जेठ । ढुंगा गिटी काण्डले मेचीनगर देशमै बदनाम भएको भन्दै दोषीलाई हदै सम्मको कार्वाहि गर्न माग गर्दै ५ राजनीतिक दलहरुले शुक्रबार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती, माओवादी केन्द्रका पुष्प गुरगाई, जसपाका अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाकी अध्यक्ष सविना बजगाईले संयुक्तरुपमा हस्ताक्षर गरिएको ज्ञापनपत्र नगरप्रमुख विमल आचार्यलाई बुझाएका थिए।


ज्ञापन पत्र बुझाए सँगै भएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका राजु पोखरेलले ढुंगागिटी काण्डको निष्पक्ष छानविन गरेर सत्यतथ्य सार्वजनिक गर्न माग गरे । उनले जोसुकै दोषी ठहरिए पनि कारवाहीको दायरामा ल्याउन आफ्नो पार्टीले सहयोग गर्ने बताए ।

यस्तै, काँग्रेसका मणिकुमार उप्रेतीले ज्ञापनपत्रमा उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएर काम कारवाही अघि बढाउन सुझाव दिए । नेकपा माओवादी केन्द्रका पुष्प गुरागाईंले आगामी दिनमा समयमै नदि ठेक्का लगाएर नगरलाई बदनाम हुनबाट जोगाउन तथा चुरेदोहनलाई रोक्न सुझाव दिए ।

यस्तै, जसपाका ओमप्रकाश खापुङले नदीजन्य पदार्थ उत्खनन् कार्यमा नगरपालिकाले गलत गरेको बताए । उनले मापदण्डभन्दा विपरीत उत्खनन् कार्य हुँदासमेत घटनालाई सामान्य रुपमा लिएकोमा आपत्ति जनाए ।खापुङले सवैलाई एक पटक नागरिक भएर सोच्न आग्रह समेत गरे । उनले भनेर्, हामी प्रक्रिया पुरागर्न मात्र आएका छैनौ अव मेचीनगरमा हुने गरेको भ्रष्टचारलाई निर्मूल गर्न र भ्रष्टहरुलाई ठेगानलगाउन अभियान थाल्छौ ।राप्रपाकी अध्यक्ष सविना बजगाईले नगरपालिकाले हालै सार्वजनिक गरेको ढुंगागिटीको तथ्याङ्क गलत भएको टिप्पणी गरिन्

ज्ञापनपत्रमा नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरणमा अधिकारको दुरुपयोग गर्दै अनियमित ढंगले नदीको दोहन गरेको, फर्जी रसिद प्रयोग गरी भष्ट्राचार गरेको, नगरप्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, नगरपालिकाको प्राविधिकसहितको सर्वपक्षिय टोलीले स्थलगत अनुगमन गर्दा आईई गरेको क्षेत्र र मापदण्ड आदी पर्वाह नगरीअत्याधिक परिमाणमा उत्खनन् गरेको प्राविधिक नाप जाँचबाट पुष्टि भएको उल्लेख छ ।

खेलाको चरम दोहन गरेर ठुलो धनराशी हिनामिना गरिएको ठहर भईसक्दासमेत दोषीलाई कारवाही गर्ने, ठेकेदारलाई जरिवानासहित असुल उपर नगरेर ठेकेदारलाई उन्मुक्ति दिने कार्य नगर्न नगरपालिकालाई सचेत गराईएको ज्ञापन पत्रमा भनिएको छ ।

फर्जी रसिद प्रयोग गरेर लाखौँ रकम हिनामिना गरेको छ महिना वितिसकेपछि मात्र अनि छानबिन गर्ने, स्थानीय सरकारले छानबिन गर्न नसकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई पत्र काट्नु, नगरपालिका आफ्ना जनप्रतिनिधि र कर्मचारीलाई कारवाही गर्न नसक्नु निन्दनिय र घोर भत्सर्ना योग्य रहेको उल्लेख छ ।

आ।व। २०७७÷७८ मा नदीजन्य पदार्थ उत्खनन् सन्दर्भमा भएका गैरकानूनी उत्खनन्, आर्थिक हिनामिना, फर्जी विलसमेतको प्रयोग गरि भएको करोडौँ हिनामिना, स्वेत पत्रमार्फत नगरवासीलाई अविलम्ब जानकारी गराउन र दोषी जो भएपनि तत्काल कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराईएको छ ।

कार्यक्रममा नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझा, नगरका पाँचै दल का प्रमुख र नेता तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु