मेची अभियानले गर्याे हिसाब सार्वजनिक

2021-07-16 मा प्रकाशित

काँकरभिट्टा,१ साउन । मेची अभियानले विभिन्न क्षेत्रमा गरेको सहयोगको हिसाब बिहीबार सार्वजनिक गरिएको छ । कोरोनाको दोस्रो लहरको समयमा मेची अभियानले सञ्चालन गरेको सहयोग कार्यक्रमको असार मसान्तसम्मको सम्पूर्ण खर्च बिवरण सार्वजनिक गरिएको अभियानका संयोजक विजय डालमियाले बताए ।

अभियानका सदस्य तथा मेचीनगर प्रमुख विमल आचार्यसमेतको विशेष उपस्थितिमा अभियानका तर्फबाट संयोजक डालमियाले आयब्यय सार्वजनिक गरेका थिए । कोरोनाको दोस्रो लहरमा मात्रै अभियानका तर्फबाट करीब एक करोड रकम बराबरको बिभिन्न सहयोगका उपलब्ध गराएको संयोजक डालमियाले प्रस्तुत गरेको बिवरणमा उल्लेख गरिएको छ ।

संयोजक डालमियाका अनुसार स्वास्थ्य सामग्री वितरणमा ५ लाख २ हजार १२०, खाद्यान्न वितरणमा एक लाख ३२ हजार ३७५, औषधी तथा उपचारका लागि ७ लाख ५ हजार ४०० खर्च भएको छ । त्यस्तै आइसोलेसनमा खाना तथा अन्य सामग्री सहयोगमा ४० हजार खर्च भएको अभियानले जनाएको छ ।

अभियानको समन्वयमा गैरआवासीय अन्तराष्ट्रीय नेपाली संघमार्फत २० वटा र करुणा फाउण्डेशनमार्फत ५ वटा गरी जम्मा २५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराई विभिन्न जिल्लामा अभियानको तर्फबाट वितरण गरिएको र सो अक्सिजन कन्सन्ट्रेटरको मुल्य ७५ लाख रहेको अभियानले बिवरणमा उल्लेख गरेको छ ।

त्यस्तै अभियान सञ्चालनका लागि विभिन्न ब्यक्ति तथा संघ–संस्था, उद्योगलगायतबाट नगद ३ लाख २७ हजार ६ सय ६६ रुपैयाँ संकलन भएको अभियानले जनाएको छ । त्यस्तै करीब ६ लाखबढीको औषधीजन्य तथा उपचार सहयोग जुटेको संयोजक डालमियाले बताए ।

अभियानका सदस्यहरु बीच आगामी दिनमा मेची अभियानलाई कसरी अगाडी बढाउने बिषयमासमेत बैठकमा छलफल भएको अभियानका सदस्य प्रकाश भण्डारीले बताए ।

अभियानलाई एउटा सामाजिक संस्थाको रुपमा विकास गर्नु पर्ने धारणसमेत बैठकमा आएको सदस्य शुशिल आचार्यले जानकारी दिए ।
मानवीय सहयोगमा काम गर्ने संस्थालाई पारदर्शी ढंगले अगाडी बढाउँदै संकटका बेला जनताको बलियो साथीको रुपमा मेची अभियानलाई सञ्चालन गर्नु पर्ने अभियानका सदस्य राजु पोखरेलले बताए ।

मेचीनगर प्रमुख आचार्यले मेची अभियानलाई बिपदमा काम गर्ने स्थायी संस्थाको रुपमा दर्ता गरेर अगाडी बढ्न सुझाव दिए । संस्थागत रुपमा अगाडी बढाउने बिषयलाई थप छलफल गरेर अघी बढ्नु पर्ने अभियानका सदस्य ओमप्रकाश खापुङले बताए ।छलफल कार्यक्रममा अभियानकर्मीहरु दिलिप सुवेदी, पुष्पराज पौडेल, तेजप्रसाद चम्लागाई, किरण नेपाल लगायतको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु