प्रजातान्त्रिक योद्धा पौडेलको अन्त्येष्टि

2021-07-17 मा प्रकाशित

मेचीनगर,२ साउन । प्रजातान्त्रिक योद्धा पुण्यप्रसाद पौडेलको अन्त्येष्टि गरिएको छ ।मेचीनगर–८, प्रतिभा चौक निवासी पौडेलको ८७ बर्षको उमेरमा गएराति १२ः३० बजे ह्रदयघातका कारण निधन भएको थियो ।

स्व पौडेलको आजै धुलावारी स्थित स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । अन्त्येष्टिमा पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

उनको पार्थिव शरिरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद सुधिरकुमार शिवाकोटी, समकालनि नेता तथा पूर्व सांसद डिल्ली सिटौला, नेपाली काँग्रेसका जिल्ला उपसभापति राम कट्टेललगायतले नेपाली काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपाली काँग्रेसका जेष्ठ नागरिक सभाका केन्द्रीय सदस्यसमेत रहेका पौडेल पूर्व महासमिति सदस्य थिए ।

पञ्चायतकालमा चुनावलाई उपयोग गर्ने काँग्रेसको नीतिअन्तर्गत तात्कालिन काँकरभिट्टा गाउँ पञ्चायतको अध्यक्ष पदमा उम्मेद्वारसमेत दिएका पौडेल काँग्रेस भित्र वौद्धिक तथा निष्ठावान नेताको रुपमा परिचित थिए ।

पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलनका क्रममा २०४६ सालमा पक्राउ परी दुई महिना झापा कारागारमा बन्दि जीवन बिताएका पौडेलको निधनले नेपाली काँग्रेसले मार्ग दर्शक तथा स्नेही नेता गुमाएको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।

स्वर्गीय पौडेलका दुई छोरा र तीन छोरीहरु छन् । जेठो रमेश पौडेल ग्रामिण विकास बैंकको पूर्व पुर्वाञ्चल डाइरेक्टर रहेका थिए भने कान्छा छोरा पुष्पराज पौडेल धुलाबारी क्याम्पसका प्रमुख तथा नेपाली काँग्रेसका झापा जिल्ला सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु