मेचीनगरमा बुधबार २५ सयबढीले लिए जोन्सन एण्ड जोन्सन कम्पनीको खोप

2021-08-04 मा प्रकाशित

मेचीनगर, २० साउन ÷ मेचीनगरका बिभिन्न वडामा बुधबार २ हजार ५ सय बढीले कोभिड १९ विरुद्घको खोप लिएका छन् । मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बर वडा गरी ७ वटा वडामा बुधबार ५० देखि ५४ बर्ष उमेर समुहका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउने व्यवस्था मिलाएको थियो ।

मेचीनगरका ७ वटा वडाबाट लक्षित उमेर समुह र फ्रन्टलाईनमा काम गर्ने गरी कुल २ हजार ७ सय २६ जनाले खोप लिएको मेचीनगर स्तरीय कोभिड १९ नियन्त्रण कार्यदल सचिवालय संयोजक नविन वरालले जानकारी दिनुभयो । उहाँका अनुसार लक्षित उमेर समुहका २ हजार २ सय ४६ र यातायात व्यवसायी, भन्सार एजेन्टलगायत फ्रन्टलाइनमा रहेर काम गर्ने ४ सय ८० जनाले खोप लिएका थिए । सवैभन्दा बढी मेचीनगरको वडानम्बर ६ मा ६ सय ४५ जनाले खोप लिएका थिए भने सवैभन्दा कम वडानम्बर ५ मा २ सय जनाले भ्याक्सिन लिएको सम्बन्धित वडाका स्वास्थ्य प्रमुखहरुले जनाएका छन् ।

स्वास्थ्यकर्मी विक्रम अधिकारीले दिएको जानकारी अनुसार वडानम्बर १ मा १ सय १३ महिला र १ सय ४२ पुरुषगरी कुल २ सय ५५ ले कोभिड १९ विरुद्घको भ्याक्सिन लगाएका छन् । यसैगरी, वडानम्बर २ मा २ सय २६, वडानम्बर ९ मा ४ सय ५०, वडानम्बर १२ मा २ सय ४५ र वडानम्बर १४ मा २ सय २५ जनाले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लिएको सचिवालय संयोजक वरालले जानकारी दिनुभयो ।

नगरपालिकाले कोभिड १९ विरुद्घको यो खोप लगाउनका लागि यसअघि कुपन वितरण गरेको थियो । खोपकेन्द्रमा हुने अनावश्यक भीडलाई नियन्त्रण र खोपलाई व्यवस्थित गर्नका लागि कुपनको व्यवस्था मिलाइएको मेचीनगर नगपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

‘मेचीनगरको १५ मध्ये ७ वटा वडामा बुधबार कोभिड १९ बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने योजना थियो ’ नगगरप्रमुख आचार्यले भन्नुभयो—‘एकै पटक मात्रै लगाए हुने अमेरिकन कम्पनीको जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समुहका ब्यक्तिलाई मेचीनगरको १, २, ५, ६, ९, १२ र १४ नम्बरका वडावासीले व्यवस्थितरुपमा खोप लिए । अब बाकी रहेका वडाहरुमा खोप कार्य निरन्तर हुने छ ।’ ३, ४, ७, ८, १०, ११, १३ र १५ नम्बर वडामा साउन २१ गते जोन्सनको खोप सञ्चालन हुने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएकोछ । नगरप्रमुख आचार्यले क्रमस सवै नगरवासीलाई कोभिड १९ विरुद्घको खोप उपलब्ध गराउने बताउनुभयो ।

नेपाल सरकारले कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान शुरु गरेदेखि नै स्थानीय सरकार मेचीनगर नगरपालिकाले खोपलाई पहिलो प्राथमिकतामा राखेको नगरप्रमुख आचार्यको भनाई छ । मेचीनगरमा अहिलेसम्म १८ हजार ६ सय ७४ जनाले खोप लगाइसकेका छन । त्यस मध्ये कोभिसिल्ड खोपको पहिलो मात्रा मात्रै लगाउनेको संख्या ५ हजार ६ सय ८१ रहेको छ ।

नगरमा ४ सय ४ जनाले कोभिसिल्डको दुवै मात्रा लगाएको स्वास्थ्य शाखा प्रमुख रामनारायण यादबले जानकारी दिनुभयो । नगरमा १० हजार ८ सय ८९ जनाले भेरोसेल खोपको पहिलो मात्रा लागाएका छन् । १ हजार ७ सय जनाले यसको दुवै मात्रा लगाएका छन् । साउन २० र २१ गते जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाउनेको संख्या जोड्दा २४ हजार बढि हुने शाखाले जनाएको छ । यो खोप अरु जस्तो दोस्रो मात्रा लगाउनु नपर्ने र पहिलो मात्रा लगाए हुने स्वास्थ्यकर्मीको भनाई छ ।

नगरपालिकाले प्रत्येक वडाको जनसंख्याको आधारमा निश्चित खोप पठाएको उपप्रमुख मीना पोखरेलको भनाई छ । सोही आधारमा वडाले समेत कुपन बितरण गरे पछि खोप केन्द्रमा अनावश्यक भीडभाड नभएको खोप लगाउने कार्य ब्यवस्थित भएको उपप्रमुख उप्रेतीको भनाई छ । स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवका अनुसार मेचीनगरलाई ५ हजार ४ सय जोन्सन खोप प्राप्त भएको थियो । एउटा खोपकेन्द्रबाट विभिन्न धेरै वडावासीलाई खोप लगाउँदा भीडभाड बढ्ने तथा खोप कार्य सञ्चालनमा समेत समस्या हुने भएकाले यसपटक नगरपालिकाले वडागत रुपमा नै खोप लगाउने र खोप लगाउन कुपन अनिवार्य गरेको नगरस्तरीय कोभिड नियन्त्रण कार्यदलका सचिवालय सदस्य सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले पहिलो पटक वडास्तरिय रुपमा कोभिड १९ बिरुद्धको खोप लगाउने ब्यवस्था गरेको हो ।

मेचीनगरमा कोभिडको दोस्रो लहर शुरुभएयता १४ महिला र २७ पुरुष गरेर कुल ४१ जनाको मृत्यु भएको छ भने नगरमा अहिलेसम्म संक्रिय संक्रमितको संख्या ३ सय ७४ रहेको छ । पीसीआर परीक्षणबाट १ हजार ५ सय ५० र एन्टिजेन परीक्षणबाट ४ सय १ जनामा कोभिड १९ को संक्रमण देखिए पनि धेरै निको भएर घर फर्केका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु