पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

2021-08-24 मा प्रकाशित

बिर्तामोड,८ भदौै । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

प्रसाईंले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आँगन एफएम बिर्तामोडका स्टेशन मेनेजर बिर्तामोड ७ गरामनी निवासी प्र्रसाईं डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । झापाली पत्रकारहरुको दीगो हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य सुरेन्द्र भण्डारी, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डेको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार प्रसाईंले बताएका छन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

उपचार कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु