जनगणना आजदेखि सुरु, झापामा १५० सुपरिवेक्षक खटिए

2021-09-15 मा प्रकाशित

झापा, ३० भदौ । राष्ट्रिय जनगणना २०७८ का लागि झापाको १५ वटै पालिकामा १५० जना सुपरिवेक्षक परिचालन गरिएको छ ।

बुधबारदेखि जनगणनाको पहिलो चरण सुरु भएको हो । पहिलो चरणको जनगणनामा तथ्याङ्क संकलन र घरमा मार्किङ गर्ने कार्य हुने छ ।

झापाका १३१ वटा वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुईटेलले बताए ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन भएको उनले बताए ।

उनले पहिलो चरणको कार्यक्रम अन्तरगत सुपरिवेक्षकले घर–घरमा पुगेर परिवारको संख्याको विवरण, कृषि तथा पशुपंक्षी सम्बन्धी विवरण, बैङ्किङ पहुँचको विवरण संकलन गर्ने बताएका छन् । विवरण संकलन गर्ने कार्य १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ ।

भदौ २६ र २७ गते विर्तामोड, मेचीनगर नगरपालिका, बाह्रदशी गाउँपालिका र भदौ २८ र २९ गते अर्जुनधारा, भद्रपुर, नगरपालिका, कचनकवल, हल्दिबारी, बुद्धशान्ति गाउँपालिकामा सुपरिवेक्षकलाई गणना सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

दोस्रो चरणका लागि कात्तिक ९ देखि ११ गतेसम्ममा कार्यालयमा गणक नियुक्ति गरिने र कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिएर गणना कार्यका लागि उनीहरुलाई कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म फिल्डमा खटाइने छ ।

कनकाईसहित जिल्लामा माइपश्चिमका सातवटा पालिका शिवसताक्षी, गौरादह, दमक नगरपालिका, कमल, गौरीगञ्ज र झापा गाउँपालिकालाई समेट्ने गरी दमकमा कार्यालय स्थापना गरिएको छ भने विर्तामोड, मेचीनगर, अर्जुनधारा, भद्रपुर नगरपालिका, बुद्धशान्ति, बाह्दशी, हल्दिबारी र कचनकवल गाउँपालिकाको तथ्याङ्क संकलन गर्ने गरी चन्द्रगढीमा कार्यालय स्थापना गरिएको उनले बताए ।

कार्यालयले यस अघि नै प्रत्येक वडाका वडा अध्यक्षको संयोजकत्वमा वडा जनगणना सहजीकरण समिति गठन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु