झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ को छायांकन सुरु

2021-09-23 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा ‘हाम्रो जंगल’ नामक वृत्तचित्रको छायांकन सुरु भएको छ । मेचीनगर स्थित थोप्लेविरान सामुदायिक वनमा उक्त वृत्तचित्रको छायांकन सुरु गरिएको छ । ठूलो पर्दाको चलचित्र निर्देशक विजय केरुङले कथा तथा निर्देशन गरेको उक्त वृत्तचित्रको शुभमूहर्त बुधबार थोप्लेविरान सामुदायिक वन परिसरमा गरिएको हो ।

निर्देशक केरुङले सामुदायिक वनमा आधारित वृत्तचित्रमा  सामुदायिक वनका गतिविधिलाई कथामा समेट्न खोजिएको उनले बताए । ‘सामुदायिक वनहरु यहाँसम्म आइपुग्न उपभोक्ताको ठूलो हात छ,’ उनले भने, ‘यही सफलतालाई पर्दामा देखाउने जमर्को गरेको छु ।’

थोप्लेविरान वनबाट सुटिङ सुरु गरिएको उक्त वृत्तचित्रको शुभमूहर्त सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले नरिवल फुटाएर गरेका थिए । झापाको थोप्लेविरान, बाँसवारी, कालिका, जामुनखाडीलगायतका मनोरम क्षेत्रमा वृत्तचित्र छायांकन गरिनेछ ।

यस्तै, झापाको सुखानी, चितवनको सौराहा, नवलपरासी, सोलुलगायतका रमणीय जंगल क्षेत्रमा पनि छायांकन हुनेछ । करिब एक घण्टाको वृत्तचित्रको निर्मातामा विश्वमार्क लिम्बू छन् । वृत्तचित्र हाम्रो जंगल करिब ५० लाख रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ ।

हाम्रो जंगल वृत्तचित्रमा राष्ट्रिय कलाकारको पनि अभिनय रहनेछ । कलाकार हेमन्त बुढाथोकी, रामचन्द्र अधिकारी, सुरविर पण्डित, विपीन प्रसाईं, दिलीप योङ्हाङले अभिनय गर्ने छन् । कलाकार सुवास मेचे र समिता गिरी मुख्य पात्रमा छन् ।

यस्तै, स्थानीय कलाकारमा कृष्ण कोइराला, जानुका ओली, संगीता थापा, सीताराम लुंगेली, ढकनाथ घिमिरेलगायतको पनि अभिनय रहेको छ । समय अनुकूल भए पन्ध्र दिन भित्रमा सुटिङ सक्ने लक्ष्य राखिएको छ । निर्देशक केरुङ मेचीनगर निवासी हुन् । उनले निर्देशन गरेको माझीदाई, आमाको काख, हामी शरणार्थी चलचित्र हिट भएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु