धुलाबारी,१७ असोज । नेपाली काँग्रेसको नवनिर्वाचित मेचीनगर समितिकोले आइतबार पदभार ग्रहण गरेको छ । धुलाबारीमा सम्पन्न एक कार्यक्रमका बीच निवर्तमान नगरसभापति इन्द्र बहादुर बुढाथोकीले नवनिर्वाचित सभापति सुवेशकुमार पनेरुलाई पद हस्तान्तरण गर्नु भएको हो । पद हस्तान्तरणका क्रममा नगर पार्टी कार्यलयको चाबी, नगरको निर्णय पुस्तीका र पार्टीको झण्डा लगायतका सामग्री बुढाथोकीले पनेरुलाई हस्तान्तरण गर्नु भएको थियो ।
धुलाबारीमा आयोजित प्रमाण पत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नवनिर्वाचित सभापति सहित सम्पूर्ण नगर समितिलाई बधाइ तथा कार्यकालको शुभकामना शुभकामना दिनु भएको थियो । लोकतान्त्रीक संस्कारलाई अवलम्बन गर्दै भएको निर्वाचन प्रक्रियामा सहभागि हुने सबैले पार्टीलाई बलियो बनाउन लाग्नु पर्ने शर्माले बताउनु भयो । वहाँले भन्नुभयो, ‘बिजयी हुनेले आफ्नो जिम्मेवारी सम्हाल्ने हो र उपबिजेता बन्नेहरुले पार्टीको संगठनलाई बलियो बनाउन बिजेताहरुलाई पछाडी बसेर सहयोग गर्नु पर्छ ।’
इन्द्रबहादुर बुढाथोकीको सभापतित्व सम्पन्न कार्यक्रममा आफ्नो कार्यकालमा भएका गरेका कामको चर्चा बुढाथोकीले गर्नु भएको थियो । नगर सभापति पदका उम्मेद्वार नविन बरालले समेत नवनिर्वाचित सभापति सहित सबैलाई बधाई ज्ञापन गर्दै आफ्नो ठाउँबाट सहयोगी भुमिका खेल्ने बताउनु भयो । कार्यक्रममा काँग्रेस झापाका उपसभापति तथा सभापति पदका उम्मेद्वार राम कट्टेलले सबैले गौरब गर्न सक्ने पार्टी बनाउन पनि आफुले जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेको बताउनु भयो । वहाँले आफुलाई प्रवक्ता शर्माको साथ रहेको समेत खुलासा गर्नु भयो । ‘म साझा उम्मेद्वार भन्दै थिए’ कट्टेलले भन्नुभयो, ‘तर अब साझा भन्ने दिन सकिएको र म विश्वप्रकाश कै उम्मेद्वार हो ।’
कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङले पार्टीलाई बलियो बनाउन सबैले सबैसंग हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै क्षेत्रीय सभापति मणीकुमार उप्रेतीले अधिवेशनको दौरानको उर्जालाई आगामी दिनमा पार्टीको संगठन निर्माण गर्न लगाउन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिका काँग्रेस सभापति चक्र शेर्माले अब सबै मिलेर संसदिय निर्वाचनमा काँग्रेसका उम्मेद्वारलाई जिताउन लाग्नु पर्ने बताउनु भयो । बुद्धशान्ति गाउँपालिका क्षेत्र नं। १ र २ मा पर्ने भुगोल भएकाले पनि दुवै क्षेत्रमा काँग्रेसलाई जिताउने गरी काम गर्ने शेर्माले बताउनु भयो ।
कार्यक्रममा स्वीकारोक्ती मन्तब्य राख्दै नवनिर्वाचित मेचीनगर सभापति पनेरुले काँग्रेसको संगठन बलियो बनाउनु आफ्नो पहिलो प्राथमिकता रहने बताउनु भयो ।
कार्यक्रममा असोज १० गते निर्वाचित भएको नेपाली काँग्रेस मेचीनगरका पदाधिकारी तथा सदस्यहरु र अपाङ तर्फका दुई जना क्षेत्रीय प्रतिनिधिलाई निर्वाचन समितिको तर्फबाट प्रमाण पत्र बितरण समेत गरिएको थियो ।
मतदान अधिकृत हरिप्रसाद अधिकारीले नगर समितिको नामावली घोषणा र सहायक मतदान अधिकृत ज्ञानेन्द्र निरौलाले सहजीकरणमा नगरमा निर्वाचित ७ पदाधिकारी र ७६ जना सदस्य गरी ८३ जनालाई प्रमाण पत्र बितरण गरिएको थियो ।पहिलो चरणको कार्यक्रम निवर्तमान नगर सचिवद्वय हस्त आङदम्बे र बसन्त तिवारीले सञ्चालन गर्नु भएको थियो भने नवनिर्वाचित सभापति पनेरुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको दोस्रो चरण नवनिर्वाचित सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बुले सञ्चालन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्