नेपाली काँग्रेस मेचीनगर ५ को शुभकामना आदान प्रदान, नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान

2021-10-08 मा प्रकाशित

सुरेन्द्रनगर,२२ असोज । नेपाली काँग्रेस मेचीनगर –५ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । घैलाडुब्बा शिवालय मन्दिरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसको १४ औँ  महाधिवेशनमा वडाबाट नगरमा निर्वाचित नगर उपसभापति तथा सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।पार्टी वडा सभापति नारायण खड्काको सभापतित्व तथा क्षेत्रीय सचिव हरि बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित नगर उपसभापति योगेन्द्र थापा, सदस्यहरु चन्द्र थापा, श्याम विश्वकर्मा, सवित्रा लिम्बू, गोपाल गिरीलाई फूल अविर र खादा लगाएर सम्मान गरिएको थियो । सो अवसरमा पार्टी वडाकार्यालयको लागि १ कट्ठा जग्गा निशुल्क उपलब्ध गराउनु भएका जग्गा दाता सन्तोष गिरी लाई समेत फूल अविर र खादा लगाएर सम्मान गरिएको थियो ।
घैलाडुब्बा शिवालयको सामुदायिक भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरि बुढाथोकीले १४ औँ महाधिवेशनलाई सफल पार्न सबैले सक्रिय भएर भूमिका खेल्नु पर्न बताए । वडा र नगरको निर्वाचन सम्पन्न भइसकेको बताउँदै बुढाथोकीले क्षेत्र र जिल्लाको निर्वाचनमा समेत एक ढिक्का भएर पार्टी हाँक्न सक्ने सक्षम व्यक्तिलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा नवनिर्वाचित नगर उपसभाति तथा मेचीनगर ५ का निर्वाचित जनप्रतिनिधि वडाध्यक्ष योगेन्द्र थापाले पार्टीको ठूलो जिम्वेवारी आफ्नो काँधमा आएकोले मेचीनगरमा काँग्रेसलाई पहिलो शक्तिको रुपमा स्थापित हुँनेगरी सक्रिय भएर लाग्ने बताए । उनले भने‘ पार्टीमा देखिएका फरक विचारलाई समेत हामी सम्बोधन गरेर अघि बढ्छौँ ,आगामी निर्वाचनमा एक ढिक्का भएर लाग्ने हो भने मेचीनगर ५ मा मात्र होइन हामी १५ वटै वडामा जित सुनिश्चित गर्ने छौँ ’ ।


कार्यक्रममा क्षेत्रीय सदस्य दीपक काफ्ले , विष्णु पाण्डे , महिला संघ मेचीनगर सभापति शान्ता चौधरी, नेपाली काँग्रेस प्रदेश क सदस्य तथा जननिर्वाचित प्रतिनिधि वडा सदस्य चन्द्रकला विक, वडा सदस्य दुर्गा आचार्य लगायतले बोलेका थिए ।
पार्टी वडा उपसभापति उपेन्द्र थापा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मणि आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु