सहारा धुलाबारी केन्द्रले दियो एकै दिन ठूलो राहत रकम

2021-10-09 मा प्रकाशित

धुलाबारी  । सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रले शनिबार एक कार्यक्रमको आयोजना गरेर विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सेवा केन्द्रले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई राहत वितरण गरेको छ ।

सेवा केन्द्रका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा परिवार राहत कार्यक्रम अन्तर्गत स्व. तेजराख खतिवडा (तेराख)को परिवारलाई रु. २ लाख राहत प्रदान गरेको छ । सो रकम स्व. तेराखका छोरा लेखनाथ खतिवडालाई प्रदान गरिएको थियो ।

सोही अवसरमा सेवा केन्द्रले ६५ वर्षदेखि ७० वर्ष उमेर पुगेका ४४ जना जेष्ठ सदस्यहरुलाई जनही ६ हजारका दरले २ लाख ६४ हजार पोषण भत्ता वितरण गरेको छ । त्यसैगरी, जेष्ठ नागरिक सदस्य भत्तातर्फ ७१ वर्षदेखि ८० वर्ष उमेर पुगेका ३२ जनालाई जनही ८ हजारका दरले रु.२ लाख ५६ हजार रुपैयाँ वितरण गरेको छ ।

सहकारीले ८१ वर्ष देखि माथिमा ८ जनालाई जनही १० हजारका दरले रु. ८० हजार वृद्व सदस्य भत्ता वितरण गरेको छ । त्यसैगरी, ४२ जना एकल महिलाहरुलाई ८ हजारका दरले ३ लाख ३६ हजार रकम प्रदान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि मीना पोख्रेल उप्रेती र विशेष अतिथि मेचीनगर ९ का वडा अध्यक्ष गोपाल खड्काले नगदसहित पुष्प गुच्छा र अविरले सम्मान गरेका थिए ।
त्यसक्रममा पुरुष सदस्यलाई ढाका टोपी र महिला सदस्यहरुलाई मोवाइल राख्ने पर्स समेत प्रदान गरिएको थियो । सो अवसरमा सेवा केन्द्रका कार्यालय प्रमुख अरुण श्रेष्ठले सेवा केन्द्रको आर्थिक प्रतिवेदन तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सहाराका अनुगमन अधिकृत घनश्याम रायले गरेका थिए ।

सहारा नेपाल साकोसले पछिल्लोसमय सदस्यहरुलाई विभिन्न सुविधा प्रदान गर्दै आएको साकोसका धुलाबारी कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले भने, हामी सदस्यहरुको जीवनस्तर उकास्ने अभियानमा छौँ, सहकारीले जीवन बरदान कार्यक्रम अन्तर्गत सदस्य पुरुषका बुवा आमा तथा महिला सदस्यका सासु ससुराको मृत्यु भएमा रु.६० हजार र स्वयं सदस्यको मृत्यु भएमा १ लाख देखि ५ लाख रुपैयाँसम्म राहत स्वरुप प्रदान गर्दै आएको छ । सदस्य बिरामी भएमा १० लाख रुपैयाँसम्म उपचार खर्च, कोरोना लागेर अस्पताल बस्नुपरे ३ लाख रुपैयाँसम्म उपचार खर्च र कोरोना पोजिटिभ भई होम आइसोलेशनमा बसेका सदस्यलाई ७ हजार रुपैयाँसहित पोषण सामग्री प्रदान गर्दै आएको छ ।
जीवन बरदान कार्यक्रममा सहभागी भएका सदस्यहरुले उक्त सुविधा प्राप्त गर्नेछन् । उनले भने, ‘सदस्यको स्वास्थ्य र शिक्षाको जिम्मा २०८० सालपछि सहारा साकोसले लिन्छ ।’

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशेष अतिथि खड्का, मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत, सहारा नेपाल साकोस परामर्श समितिका संयोजक हरिचरण बानियाँलगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु