साहारा साकोस द्वारा १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

2021-10-10 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । विजया दशमी नजिकिए सँगै सहारा नेपाल साकोसले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणलाई तीव्रता दिएको छ ।

साकोसले प्रदेश १ का ६ जिल्लामा एक साता भित्र ९ सय ३५ जनालाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको साकोसका अनुगमन अधिकृत घनश्याम रायले बताए ।
यस अवधिमा साकोसले ९वटा विद्यामा ७४ वटा सेवाकेन्द्र मार्फत सो रकम वितरण गरिएको उनको भनाइ छ ।
आइतबार साकोसले मेचीनगरका तीनवटा शाखामा कार्यक्रम आयोजना गरेर सुरक्षा भत्ता वितरण गरेको छ ।
मेचीनगरको इटाभट्टामा आयोजित कार्यक्रममा साकोसले परिवार राहात कार्यक्रम अन्तर्गत स्व. पुन्यप्रसाद पौडेलको परिवारलाई रु १ लाख नगद प्रदान गरेको थियो । सो रकम स्व. पौडेलकी धर्मपत्नी राधादेवी पौडेललाई प्रदान गरिएको थियो ।

सहकारीले ९ जनालाई रु ६ हजारका दरले जेष्ठ सदस्य पोषण भत्ता वितरण गरेको छ ।त्यसैगरी जेष्ठ नागरिक सदस्य भत्ता ८ हजारका दरले ११ जनालाई प्रदान गरेको छ । बृद्व सदस्य भत्ता १ जनालाई रु १० हजार प्रदान गरिएको थियो । त्यसैगरी ९ जना एकल महिलाहरुलाई रु ८ हजारका दरले भत्ता वितरण गरेको थियो ।

इटाभट्टा शाखा संयोजक राजन कुमार गिरीको सभापतित्व तथा मेचीनगरपालिका वडानम्बर ८ का वडाध्यक्ष विकेन्द्र धिमालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि धिमालले सरकारले दिन नसकेको सेवाका कार्यक्रम साहाराले दिएर नाम अनुसारको काम गरिरहेको भन्दै साहारा साकोसको प्रशंसा गरेका थिए । दशैको मुखमा साकोसले जेष्ठ नागरिकहरुलाई आर्थिक सहयोगको कार्यक्रम ल्याएर जेष्ठ नागरिकहरुको साहारा बनेको बताए ।
कार्यक्रममा जेष्ठ सदस्य एवम् मेचीकृषक बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष कुलदिप गिरी, शान्ता चौधरी, सेतो पत्र डटकमका सम्पादक, ज्ञानेन्द्र निरौला, लगायतले साहाराको सकारात्मक कार्यको खुलेर प्रशंसा गरेका थिए । बक्ताहरुले अन्य सहकारीले समेत यस किसिमको सदस्य राहाका कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।


सो अवसरमा अनुगमन अधिकृत गोमा बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकास पारेकी थिइन् । उनले सहकारीमा आफ्नो कारोबार समेत बढाउन अनुरोध समेत गरिन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख गिता ओझाले गरेकी थिइन् ।


त्यसैगरी आइतबारै काँकरभिट्टा शाखाको आयोजनामा भएको सम्मान तथा भत्ता वितरण कार्यक्रममा जेष्ठ पोषण भत्ता १ जनालाइ रु ६ हजार, एकल पुरुष भत्ता १ जनालाई रु ६ हजार तथा १९ जना एकल महिलाहरुलाई रु ८ हजारका दरले भत्ता वितरण गरिएको थियो ।
एकल महिला मिरा कार्कीको सभापतित्व तथा डिएस्पी सुनिल दाहालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, काँकरभिट्टा खाने पानी उपभोत्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष गोविन्द गिरी, लगायतले बोलेका थिए । शाखा प्रमुख खेमराज पुरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।


साहाराले जीवन बरदान कार्यक्रममा सहभागी बनेका जेष्ठ नागरिक, एकल महिला, जीवन गुमाएका सदस्यको परिवारलाई यस किसिमको राहत वितरण गर्दै आएको छ ।

यसैगरी मेचीनगर–१३ स्थित सहारा नेपाल साकोस चारआलीले सेवा केन्द्रका ८ जना एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । साकोसले परिवार राहात कार्यक्रम अन्तर्गत  स्व. धनमाया गुरुङको परिवारलाई राहत प्रदान गरेको छ । सेवा केन्द्रकी ४० वर्षीया धनमाया गुरुङको केहि महिनाअघि मृत्यु भएको थियो ।

उनका श्रीमान रामबहादुर गुरुङलाई सुरक्षण रकम बापतको ४ लाख १ हजार ८० रुपैयाँ वितरण गरिएको चारआली शाखाकी प्रमुख चन्द्रकला बाँस्तोलाले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु