अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइयो

2021-11-10 मा प्रकाशित

डम्बर बराल

मेचीनगर,२४ कात्तिक । मधेशी समुदायले मनाउँदै आएको छठ पर्व आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको भएपनि आज साँझ र भोली बिहान ठूलो उत्साहका साथ मनाउँने चलन छ ।
केही वर्ष अघिसम्म मधेशी समुदायले मात्र मनाउँने गरेको यो पर्व पछिल्लो समय सबै जातजाति र समुदायले मनाउँन थालेका छन् । हरेक वर्ष झै यस वर्ष पनि मेचीनगरको निन्दा नदीमा सूर्यको पूजा आरधना गर्न ठूलो संख्यामा भक्तजनहरु सहभागि बनेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । विधिपूर्वक छठी माताको उपासना गर्ने हरुको हरेक मनोकामना पुराहुने जनविश्वास रहेको छ । रोग निवारण तथा सन्तान प्राप्तिको लागि छठीमाताको ब्रत बस्ने चलन रहेको निन्दा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष शिव शंकर शाहाले बताए ।

चार दिन सम्म मनाइने यो पर्वको पहिलो दिन नहाय खाय अर्थात नुहाइ धुवाइ गरेर पूजा आराधना गरेर खाना खाने, दोस्रो दिन खरना अर्थात दिनभर ब्रत बसेर साँझको समयमा घरमै छठीमाइको विधि पूर्वक पूजा गरेर प्रसाद ग्रहण गर्ने , तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर प्रसाद चढाउने र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर फलफूल चडाएसँगै छठी पुजा सम्पन्न हुँने उनले बताए । उनले भने, ‘यो पर्वको ठूलो महत्व छ, मनोकामना पुरा हुँने भएपछि सवै समुदायले यो पर्व मनाउँने क्रम सुरु भएको छ ।’ निन्दा नदीमा छठीमाताको पूजा हेर्न साँझामा ५ हजार र विहान करिव १० हजारको संख्यामा मानिसहरु सहभागिहुने गरेको उनले बताए ।


पूजा व्यवस्थापन समितिका उपाध्यक्ष मनोज पोद्दार छठी माताको उपासना गर्ने हरुको सख्या हरेका वर्ष बढ्दै गएको बताए । सन्तानको सुख प्राप्तिको लागि यो ब्रत बस्ने चलन छ । उनले भने, ‘विधिपूर्वक पूजा आराधना गरेर छठीमात सँग भाकलगर्दा सूर्यदेवताले आर्शिवाद दिनु हुन्छ ,आफ्नो समेत १० वर्ष सम्म सन्तान नभएपछि छठी माताको ब्रत बसेर भाकल गरेपछि २ सन्तान प्राप्त भएकोले छठी माता प्रति पूर्ण विश्वास रहेको छ ।’ झापा जिल्लामा विशेषगरी मेची,निन्दा फूलबासा, बिरिङ, माई लगायतका नदीमा ठूलो संख्यामा भक्तजनहरु सहभागि हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु