कोलकातामा हुँने सुन्तला पर्यटन महोत्सवको तयारी पुरा

2021-11-23 मा प्रकाशित

मेचीनगर,७ मंसिर । आगामी मङ्सिर २४देखि २६ गते सम्म पश्चिम बङ्गालको राजधानी कोलकातामा हुँन लागेको चौथो हिमालय सुन्तला पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।

मंगलबार काँकरभिट्टामा आयोजक एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमले पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी गराएको हो । ग्रमीण पर्यटन प्रवर्धन, अन्तरसीमा पर्यटन विकास, वन्यजन्तु संरक्षण र कृषि उतपादन तथा बजारीकरण लगायतका बारेमा जानकारी गराउन तथा नेपाली कला संस्कृति प्रस्तुत गरेर विदेशीलाई नेपालतर्फ आर्कषण गर्नु महोत्सवको मुख्य उद्घेश्य रहेको अतिथि एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका महासचिव अर्जुनकुमार कार्कीले जानकारी दिए ।
पश्चिम बङ्गालको राजधानी कोलकाताको सल्टलेक सिटिसेन्टरमा हुने महोत्सवमा नेपालको विभिन्न ८ वटा स्टल रहने, ३० वटा जति विभिन्न प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा १ नम्बर प्रदेशबाट १ सय ८० जना सहभागी हुने र लुम्बिनी र बागमती प्रदेशबाट समेत गरी नेपालबाट २ सय २० जनाले सहभागीता जनाउने भएका छन्
महोत्सवमा १ नम्बर प्रदेशकोे ग्रामीण पर्यटन, यसक्षेत्रमा रहेका वन्यजन्तु संरक्षण, अन्तर सीमा पर्यटन विकास, नेपाली कला संस्कृति, ग्रामीण कृषि उत्पादन, नेपाली लोक भाका, सन्देशमुलक नाटक, लोकनृत्य, संगिनी, बालान, लगायतका प्रस्तुती रहने महासचिव कार्कीले जानकारी दिए ।

नेपाली स्टलमा नेपाली उत्पादन सुन्तला, एबोकाडो, किबि, अकबरे खुर्सानी, अल्लोको उतपादन, चुरा, पोते, आर्ट र पर्यटकीय स्थलहरुको नक्शा, होमस्टे, होटल ट्राभलका प्रचारात्मक पर्चा पम्प्लेट समेत राखिने वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ । हिमालय क्षेत्रका नेपाल, भारत र भूटानमा फल्ने सुन्तला ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडिबुटी, फलफुल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिदै आईएको उहाँको भनाई छ । कोरोना महामारीले विश्वव्यापी रुपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको यो सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत बनाउन वा पुरानै लयमा फर्काउन सक्ने, पर्यटनलाई प्रवद्र्धन गर्ने, होमस्टे र आन्तरिक पर्यटनको प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ । कोलाकातास्थित नेपाली महावाणिज्य दूतावासले समेत शुरु देखि नै चासो देखाउदैँ आएको महासचिव कार्कीको भनाई छ ।

नेपाल, भारत, भुटान, बंगलादेश म्यानमारलगायतका मुलुकका वाणिज्यदुतलगायत महत्वपुर्ण व्यक्तिहरुको उपस्थिती रहने महोत्सवको न्यूनतम १० लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने बताइएको छ । नेपाल र भारतबीचका पत्रकारहरुमा विभिन्न विषयमा अन्तरक्रिया तथा मानव वेचविखन नियन्त्रणमा समेत छलफल हुने छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु