झापा सभापतिमा राम कट्टेल र देउमान थेबेको उम्मेद्वारी दर्ता, भोलि निर्वाचन

2021-11-25 मा प्रकाशित

झापा, ९ मंसिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबेले उम्मेद्वारी दर्ता गराएका छन् ।
कांग्रेस १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबे दुवै पक्षले प्यानल बनाएर नै उम्मेद्वारी दर्ता गराएका हुन ।

जिल्ला उपसभापति पदमा कट्टेल प्यानलबाट कनकाईका शहीद राजन गिरीका पिता समशेर गिरी  र मेचीनगरका प्रेम सम्बाहाम्फेले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै सचिव पदमा दमकका विश्वदीप लिङदेन र बाह्रदशीका टोम राजबंशीले उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै कट्टेल प्यानलबाट सहसचिवमा पदम लिम्बु र उमाराम प्रसाईले उम्मेद्वारी दर्ता गराएका छन ।

यता थेबे प्यानलबाट उपसभापति पदमा दमकका शेरबहादुर भट्टराई र मेचीनगरका केशबराज पाण्डेले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै सचिवमा कृष्ण हुमागाई र नविन बिमली, सहसचिवमा कमल भण्डारी र कलेन्द्र राजबंशीले उम्मेद्वारी दर्ता गराएका हुन् ।

कांग्रेस झापाको ७ पदाधिकारी, ६४ जिल्ला सदस्य, अपाङ्ग कोटाबाट एक जना महाधिवेशन प्रतिनिधि र एक जना प्रदेश अधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर १० गते मतदान हुँदैछ ।

कांग्रेसका नेता कृष्ण सिटौलाको समर्थन रहेको थेबे प्यानल र प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन रहेको कट्टेल प्यानलबीच चुनावी भिडन्त हुँदैछ ।

भोलि जिल्ला भरिका ३ हजार ३८९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु