शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः न्यौपाने

2021-12-10 मा प्रकाशित

बिर्तामोडमा,२४ मंसिर । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
बिर्तामोड स्थित अग्रसेन भवनमा शुक्रबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा माइन्युट प्रमाणिकरण भेलाबाट न्यौपाने अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
बिभिन्न सेवाकेन्द्रहरुमा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न गरेर आज अन्तिम माइन्युट प्रमाणिकरणको लागि आयोजित भेलामा निर्वाचन समितिको संयोजक डिल्ली दाहालले नवनिर्वाचित समितिको नामावली वाचन गरेका थिए ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा हेमराज मिश्र, सचिवमा सूर्यकुमार खतिवडा, र सदस्यहरुमा भगिरथा थापा, यज्ञप्रसाद मिश्र, उमा राई नवराज कडरीया, लक्ष्मी प्रसाद घिमिरे, र चीजा राई रहेका छन् । त्यसैगरी साधारणसभाले युवराज निरौलालाई लेखा समितिको संयोजक चयन गरेको छ । लेखा समितिको सदस्यमा लक्ष्मी देवान र यमनाथ खरेल रहेका छन् ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रर्साईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपप्रमुख प्रसाईले सहकारीको माध्यमबाट समृद्घि हासिल गर्न सकिने बताइन् । उनले भनिन्, ‘देशमा शिक्षा,स्वास्थ्य जस्ता अति आवश्यक र आधारभूत कुराहरु अति महङगो भैरहेकोछ । तपाईहरुले आफ्ना सदस्यहरुको छोराछोरीलाई सहकारीको माध्यमबाट शिक्षा दिने अभियान थाल्नु भएको छ । यो अभियान स्वागत योग्य छ ।’ उत्पादनको क्षेत्रमा नलाग्ने सहकारीहरु अव प्रतिष्पर्धामा आउन नसक्ने उनको भनाई थियो ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघकी सदस्य चन्द्रकला भण्डारीले युवाहरुमा बढदैगएको बैदेशीक रोजगारीको मोहलाई रोक्न र देशमै स्वरोजगार शिर्जना गर्न अव सहकारी भरपर्दाे माध्यम भएको र सहकारीको ध्यान त्यस तर्फ केन्द्रित हुनुपर्ने बताईन् । सो अवसरमा नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका शाखा प्रमुख विवेक डाँगी लगायतले बोलेका थिए ।


कार्यक्रममा उत्कृष्ट प्रवद्र्घक, उत्कृष्ट कर्मचारी, विषेश बचतकर्ता , साधारण बचतकर्ता , ऋणी तथा विद्यार्थी लगायत २४ जनालाई सम्मान गरिएको थियो ।
अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६९ भदौ २५ गते ३४ जना सदस्यहरुबाट सुरु भएको सहकारीले स्थापनाको छोटो अवधिमा ३८०८सदस्य संख्या पुर्याउन सफल भएको तथा शेयस पूँजी २करोड, ६९ लाख ९८ हजार ७०० रुपैँया पुगेको र २ करोड, ८३ लाख९ हजार २६९ रुपैँया ४१ पैसा आम्दानी रहेको साथै  हालसम्म  सहकारीले दुवागढी, शनिश्चरे, दुर्गापुर चैतुबारीर धुलाबारीमा सेवाकेन्द्र सञ्चालन गरिसकेको अध्यक्षको प्रतिवेदमा उल्लेख छ । सदस्य चीजा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपेश धौरालीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु