तिक्तता हटाएर अभियानमा जुट्नुको विकल्प छैन ः महामन्त्री शर्मा

2021-12-22 मा प्रकाशित

झापा, ७ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक निर्वाचनमा देखिएका सवै खाले तिक्ततालाई मेटाएर पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा स्थापीत गर्ने गरी अभियानमा जुट्न नेता कर्यकर्तालाई आग्रह गरेका छन् ।

महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट गृहजिल्ला आएका शर्माले विर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक व्यवस्था होइन, मुलुकको अवस्था बदल्नु पर्नेमा जोड दिए ।

उनले मुलुकमा रहेको अव्यवस्था हटाएर समाजमा परिवर्तनको अनुभूति गराउन जरुरी भएको बताए ।

महामन्त्री पदमा निर्वाचित भएपछि उनी आज पहिलोपल्ट गृहजिल्ला आएका हुन् । उनले झापा र झापालीलाई आभार व्यक्त गर्न झापा आउको बताए ।

उनले लोकतन्त्र र संसदीय व्यवस्थाको विकल्प नखोज्न र राजतन्त्र पुनस्र्थापनाको भ्रम नफैल्याउन आग्रह गर्दै संविधान निर्माणको नेतृत्व गरेको नेपाली कांग्रेसले अब आउँदो निर्वाचनबाट बहुमत ल्याएर मुलुकको आर्थिक विकास र सामाजिक रुपान्तरणको अगुवाई गर्ने जिकीर गरे ।

“ठूलो पदमा पुगेँ भनेर म आफु जन्मेको जिल्लामा बधाइ थाप्न पनि आएको होइन,” महामन्त्री शर्माले भने–“जुन दिन नेपाली कांग्रेसलाई बलियो बनाउँछु त्यहीबेला बधाइ पाउने हक राखुँला, तर अहिलेलाई तपाईहरुप्रति हार्दिक आभार व्यक्त गर्न आएको हुँ, शुभकामना लिन आएको हुँ ।”

उनले पार्टीको १४ औं महाधिवेशनले आम कार्यकर्तामा ऊर्जा भरेको चर्चा गर्दै चुनावमा भएको हार जितलाई लिएर कसैले कसैसँग पनि पूर्वाग्रही र विभेद्पूर्ण व्यवहार नगर्न अनुरोध गरे । उनले आफुलाई आम कार्यकर्ताले विवेकको मत दिएको हुँदा पार्टीलाई सबल र सशक्त बनाउन दृढतापूर्वक लाग्ने बताए ।

उनले झापा जिल्ला विद्रोहको विम्ब भएको र मुलुकको प्रजातान्त्रिक एवम् बामपन्थी आन्दोलनको विद्रोह समेत झापामै भएको उल्लेख गर्दै आफुले महामन्त्रीको उम्मेद्वार हुँदै गर्दा बाचा गरेको २४ बुँदे अवधारणा पूरा गराउन प्रतिबद्ध रहेको बताए ।

काठमाडौंबाट आज विहान चन्द्रगढी विमावनस्थलमा आइपुग्दा उनलाई कार्यकर्ताहरुले फुलमालाले स्वागत गरेका थिए ।

त्यहाँबाट मेची बहुमुखी क्याम्पसको हातामा पुगेर शर्माले आफ्ना सहपाठी तथा २०४६ सालका सहिद राम थापाको सालिक र चन्द्रगढीमा रहेको जननायक विशेश्वरप्रसाद कोइरालाको सालिकमा माल्र्यापण गरे ।

चन्द्रगढी विमानस्थलमा हवाइजहाजबाट ओर्लिनासाथ उनी भुईमा लत्रिएर निधारले झापाको माटो ढोगे । “जुन धरतीले मलाई जन्मायो, जुन माटोमा मैले हुर्किने र खेल्ने मौका पाएँ, त्यही माटोप्रति मेरो श्रद्धा हो यो”–उनले भने ।

आभार व्यक्त गर्न विर्तामोडको अग्रसेन भवनमा आयोजित कार्यक्रममा उनी मञ्चमा बसेनन् । अरु अतिथि नेताहरुसँगै उनी आम कार्यकर्ता बसेको हलको लहरमा बसे । यसबाट उनले आफु कार्यकर्तासँगै छु भन्ने सन्देश दिन खोजे ।

मञ्चमा सहिदका तस्वीर राखिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य समेत २०६२÷०६३ को जनान्दोलनका सहिद राजन गिरीका पिता शमशेर गिरीले राखेका थिए ।

कार्यक्रमको सभापतित्व पूर्व सभापति पूर्णानन्द शर्माले गरेका थिए भने सहिद परिवारका युवराज बिमली, पूर्व केन्द्रीय सदस्य गोपाल बुढाथोकी, पूर्व उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजबंशी र क्षेत्रीय सभापति जीवन राईले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन पूर्व सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए । अग्रसेन भवनको भित्री हल र बाहिरी प्रांगण कार्यकर्ताको भीडले खचाखच थियो । बाहिर डिस्प्ले राखेर कार्यक्रम हेर्ने व्यवस्था मिलाइएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु