सहकारीको माध्यमबाट दिगो विकास सम्भव छ : मन्त्री कार्की

2021-12-26 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले देशमा गरिवी निर्मूल गर्न शिक्षा र स्वास्थ्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन र दिगो विकासको लागि सहकारी मात्र एक भरर्दाे माध्यम भएको बताएका छन । ् शनिवार मेचीकृषक बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले जनप्रतिनिधिहरुमा नयाँ शासक बन्ने होड चलेका कारण लोकतन्त्रको अझै संस्थागत विकास हुन नकेको बताए । उनले भने,‘ देशको नेतृत्व गर्नेहरुमा शासक बन्ने प्रवृति देखा पर्न थालेको छ । जसले गर्दा बिधि र नीति भन्दा बाहिर रहेर धेरै कामहरु हुने गरेका छन् । त्यसको प्रत्यक्ष असर सहकारीहरुमा समेत देखिएको छ । सहकारी नीति र विधि अनुसार सञ्चालन हुने हो भने देशले समृद्घि हासिल गर्न समय लाग्दैन ।’
उनले ठूला सहकारीहरु अझै सदस्य केन्द्रित हुन नसकेको आरोप लगाएका छन् । देशमा रहेका ठूला सहकारीहरु कर्मर्शियल बैंकको नीति लिएर चलिरहेका छन् । उनले भने ,ठूला सहकारीहरुमा सञ्चालकहरु मोटाउने र सदस्य दिन दिनै आर्थिक र सामाजिक रुपमा कमजोर बन्ने गरेको कारण समाज अझै रुपान्तरण हुन नसकेको र त्यस्ता सहकारीको प्रभावकारी अनुगमन गरिने उनले बताए ।


पछिल्लो समय कृषि तथा बहुउद्देश्यीय सहकारीहरुले भने सदस्य केन्द्रित कार्यक्रम अघि बढाएर सदस्यहरुको जीवन स्तर उकास्न लागि परेको बताउँदै मन्त्रि कार्कीले मेची कृषक सहकारी संस्थाको खुले प्रशंसा गरे । उनले भने,‘मेची कृषकले बचत तथा ऋणको कार्यक्रम सँगै बिउविजनको कार्यक्रम अघि बढाएको रहेछ । सदस्यको जीवन स्तर उकास्न र देशलाई कृषिमा आत्म निर्भर बनाउँन यो अभियान महत्वपूर्ण हुने छ । सबै सहकारी अब उत्पानमा लाग्नुको विकल्प छैन ।’ सहकारीको माध्यमबाट आर्थिक सामाजिक, धार्मिक, संस्कार संस्कृतिको समेत संरक्षण हुने उनको भनाई छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव केशव मिश्रले देश संघीय लोकतन्त्रमा गएसंगै तीन तहको कानुन बन्दा सहकारीमा समस्या सिर्जना भएको आरोप लगाए । उनले सहकारी केन्द्रिय नीति अनुसार सञ्चालन हुनु पर्ने बताए । पछिल्लो समय सरकारले ल्याएको सहकारी मर्जर नीतिले ग्रामिण स्तरका सहकारीमा समस्या सिर्जना हुने गरेको बताउँदै उनले भने,‘ विषयगत सहकारी मर्जर हुनु राम्रो हो । तर ठूला सहकारी हरुले ग्रामिण क्षेत्रका सवै खाले सहकारीलाई मर्ज गर्न थालेकोले गाउँको एकतामा समेत असर गर्न थालेको छ ।’
कार्यक्रमा मेचीनगर प्रमुख बिमल आचार्यले नेपालको आर्थिक पाटोलाई सहकारीले ठूलो टेवा पुर्याएको बताए । सरकारको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा महत्वपूर्ण अंग भएको बताउँदै उनले देशलाई समृद्घि तर्फ अघि बढाउन सहकारीको विकल्प नभएको बताए । उपप्रमुख मीना उप्रेतीले मेचीनगरपालिकाले नगर भित्र रहेका सहकारीहरुको प्रभावकारी अनुगमन तथा सहयोग गरिरहेको बताइन् । उनले मेचीकृषक सहकारीको बिउबिजन कार्यक्रम तथा चक्लाबन्धी खेतीलाई नगरपालिकाले नजिकबाट नियाली रहेको र अभियानमा हातेमालो गरेर अघि बढिरहेको उनको भनाई थियो ।


कार्यक्रममा सहकारीले  उत्कृष्ट बचतकर्ता तुलोवाला राजवंशी ,शिरा ढंगाना राजेन्द्र गुरागाईँ, उत्कृष्ट ऋणि अजितकुमार राय, छलिमाया वास्तोला, सञ्जय निरौला, देविका खतिवडा, उत्कृष्ट कृषकतर्फ भिमादेवी प्रधान, श्याम दाहाल, बाल बचतकर्ता पृथ्वीराज खतिवडा, विक्रेता तर्फ पदमबहादुर बुढाथोकी तथा स्वर्गीय डिगबहादुर पौडेल सहकारी सम्मान ऋषिप्रसाद निरौलालाई प्रदान गरेको छ । त्यसैगरी सहाकारी संस्थाले देवीचरण पराजुली, रत्न खड्का, मन्दोदरी खतिवडा,यमुनादेवी रिजाल, सूर्य प्रसाद घिमिर लगायत २६ जना जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरेको छ । सवैलाई नगदसहित सम्मान पत्र प्रमुख अतिथि मन्त्री कार्की, विशिष्ट अतिथि नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीले प्रदान गरेका थिए । त्यसैगरी सहकारीले उपचार कोषमार्फत लामो समय देखि स्वास्थ्यमा समस्या भएर उपचार गराई रहेका सहकारीका सदस्य भवानी बराललाई रु ५० हजार उपचार खर्च प्रदान गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०४५ सालमा ७८ जना शेयर सदस्यहरुको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ८ हजार १ सय ४३ जना शेयर सदस्य, ५ करोड,४७ लाख ५८ हजार ३०० रुपंैयाँ शेयर पूँजी तथा लगानी ऋण ३१ करोड४१ लाख ९ हजार २०७ रुपैंयाँ रहेको आर्थिक विवरण अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आ.ब. २०७७ ।०७८ देखि २०८० ।०८१को रणनीतिक योजना समेत तर्जुमा गरेको छ । भने सहकारीलाई थप व्यवस्थित गर्न सदस्य कल्याणकारी बचत तथा राहत परिचालन नीति तथा सुशासन नीति समेत लागुगरेको छ । सहकारीले सदस्यहरुको हितलाई ध्यान दिएर बिजवृद्घि कार्यक्रमलाई तीब्र पार्दै लगेको छ । हाल २५० घर परिवार बिजबृद्घि कार्यक्रममा सहभागि भइरहेको प्रतिवेदनमा उल्लेख छ । लेखा संयोजक विष्णुलाल गिरीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका सञ्चालक दुर्गा सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु