खुट्टीडाँगी वनको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

2022-01-09 मा प्रकाशित

धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह मेचीनगर(९ को २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । चार वर्षे कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।

वन समूहका अध्यक्ष टंकबहादुर नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा सिमसार क्षेत्रको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख छ  । वन समूह परिसरमा रहेको सिमसार क्षेत्रमा आकर्षक बाल उद्यान रहेको छ । त्यस्तै, पर्यटन प्रवेश गेट आकर्षक फुलबारी, वनको वरिपरि रिङरोड बनाउने लगायतका पूर्वाधारहरु सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।

वन समूहका अध्यक्ष टंकबहादुर नेपालको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी प्रमुख अथिति रहेका थिए । उनले वन विकाससँगै वैकल्पिक आम्दानीको बाटो खोज्नुपर्ने बताए । उनले सिमसारलाई सुन्दर चिल्ड्रेन पार्कको रुपमा विकास गर्न सहयोग गर्ने वचन दिए ।

कार्यक्रममा सिमसार क्षेत्रको पूर्वाधार व्यवस्थापनमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा तिलबिक्रम र यसोदा प्रसाईं, सोमनाथ ओझा, गणेशबहादुर कार्की, खोमनाथ खनाल र दलबहादुर विश्वकर्मा छन् । दाताहरुले सिमसार परिसरमा पिङ, गेटलगायतका पूर्वाधार बनाइदिएका हुन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य संगीता थापा, मेचीनगर वडा नं। ९ का वडा अध्यक्ष गोपाल खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए । वन समूह सचिव इन्दिरा नेपालले स्वागत गरेको कार्यक्रम सञ्चालन कार्यालय सचिव राजु धिमालले गरेका थिए । यो साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

साधारणसभाले निर्वाचन सम्पन्न गर्न शिव रेग्मीको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ । समितिले निर्वाचन प्रकिया अगाडि बढाउनेछ । उक्त वनमा ३२० जना उपभोक्ता छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु