स्थानीय तहको चुनाव वैशाख ३० गते हुने

2022-02-07 मा प्रकाशित

झापा, २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको हो ।

‘आउँदो वैशाख ३० मा स्थानीय चुनाव गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘एकैचरणमा निर्वाचन हुन्छ ।’ यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए । आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए ।

प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए ।

प्रतिपक्षी दल एमालेले स्थानीय चुनाव समयमै हुनुपर्ने बताइरहेको थियो । एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले आन्दोलन पनि गरिरहेका थिए । सत्तारूढ कांग्रेसभित्र पनि वैशाखमै निर्वाचन गर्नुपर्ने आवाज उठेको थियो । नेता शेखर कोइराला पक्षका नेताहरूले समयमै निर्वाचन गरिनुपर्ने दबाब दिइरहेका थिए ।

सरकारले भने स्थानीय तह निर्वाचन ऐन २०७३ र संविधानको व्यवस्था बाझिएको भन्दै बाझिएको हकसम्म संशोधन गर्ने तयारी पनि गरेको थियो । केही संविधानविदहरूले ऐनलाई संशोधन गरेर संविधान अनुसार बनाउनुपर्ने सुझाव पनि दिएका थिए ।

०७४ मा वैशाख, असार र असोज गरी तीन चरणमा निर्वाचन भएकोले कुन मितिबाट जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुगेको मान्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भने जेठ ५ भित्रै निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव सरकारलाई दिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु