नगरपालिकाद्वारा दुःख व्यक्त , स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव

2022-02-08 मा प्रकाशित

मेचीनगर, २५ माघ । मेचीनगरको दुई अलग–अलग स्थानमा भएको आगलागी घटनाबाट भएको धनजनको क्षतिका विषयमा मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ ।

नगर स्तरीय विपद् व्यवस्थापन समितिकोआज बसेको बैठकमा घटनाप्रति दुःख व्यक्त गदैं आगलागीमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्घाञ्जली, शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित विपद् स्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको बैठकमा सहभागिहरुले स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा लान आग्रह गरेका छन् ।

वैठकले २० माघमा मेचीनगर–६ स्थित एसएस फूटवेयर जुत्ता उद्योगमा भएको आगलागीको घटनामा आगो नियन्त्रणमा सहयोग पुर्याउने काँकरभिट्टा खानेपानी तथा सरसफाइ समिति, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना छिमेकी नगर तथा गाउँपालिका, मित्रराष्ट्र भारत, वारुणयन्त्र, स्थानीय नगरवासी लगायत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।वैठकमा नगर प्रमुख आचार्यले आयावारीको आगलागी घटना परी घाइते भएकाहरुको उपचार विभिन्न अस्पतालमा गरिएको र उनीहरुको खर्च नगरपालिकाले गरेको तथा मृतकलाई राहत स्वरुप रकम उपलब्ध गराएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।उनले आगलागीबाट क्षति पुगेको उद्योगलाई नगरपालिकाकोतर्फबाट गर्नुपर्ने साथ सहयोगका बारेमा कार्यपालिकाको वैठकमा छलफल गरी सवै विषय अध्ययन गरी उपलब्ध गराउने बताए । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको दमकल खराव भएर मर्मत सम्भारका लागि पठाएको बताइन् ।

नगरपालिकाको दमकल नभए पनि नगरप्रमुख, उपप्रमुखले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर तत्काल मित्रराष्ट्र भारतका विभिन्न स्थानबाट समेत दमकल बोलाइएको बताए । साथै छिमेकी नगरपालिका, गाउँपालिका लगायत मोरङ, सुनसरी, ईलाम जिल्लाका नगरपालिका र गाउँपालिकाबाट समेत दमकल बोलाईएको जानकारी दिईएको छ ।

बैठकमा नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज ९राजु० पोखरेल, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, नेकपा माओवादी केन्द्रका मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, मेची उद्योग बणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना, उद्योग उपाध्यक्ष कपिल क्षेत्री, सचिव रवि नेपाल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरे, चारआली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष मधु निरौला, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिलसिंह दाहाल, नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगर अध्यक्ष कुसुम कोइराला, मेचीनगर नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख ईञ्जिनियर कमल कोइराला, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की, विधेयक समिति संयोजक कुसुम चौधरी, सुशासन तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाई लगायतको बैठकमा सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु