बाँझो खेत राख्ने परम्परा अन्त्य गर्नु पर्छ  मन्त्री सरावगी

2022-02-24 मा प्रकाशित

मेचीनगर, १२ फागुन । प्रदेश १ का भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले यान्त्रिकरणको प्रयोग गरेर कृषि उत्पादन बढाउनुको विकल्प नरहेको बताएका छन् ।

सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र मेचीनगर–५ को नवनिर्मित कृषि गोदाम उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री सरावगीले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सरावगीले युवाहरुमा बढेको बैदेशीक रोगजारीको मोहले देश कृषि क्षेत्रमा परनिर्भर बन्दै गएकोले देशलाई पुन।कृषिमा आत्मनिर्भर बनाउन सहकारी मात्र एक भरपर्दो माध्यम भएको दावी गरे ।

‘देशलाई कृषिमा आत्मनिर्भर बनाउने उद्घोष गरेको धेरै भयो’, मन्त्री सरावगगीले भने, ‘अव यान्त्रीकरणको प्रयोग गरेर बाँझो खेत राख्ने परम्पराको अन्त्य गर्नु पर्छ ।’

उनले आयात प्रतिस्थापन गर्न सहकारीले सरकारसँग समन्वय गरेर सदस्यहरुलाई कृषि कार्यक्रमअघि बढाउनु पर्ने उनको भनाई थियो । मन्त्री सरावगीले मेची कृषक बहुमुखी सहकारी संस्थाले कृषि क्षेत्रमा गरेको कामको खुलेर प्रशंसा गरेका थिए ।

सहकारीको अभिन्न अंगको रुपमा रहेको सामुदायिक पोष्ट हार्भेष्टले बिउविजन तथा कृषि सामाग्री भण्डारणको लागि कृषि ज्ञानकेन्द्र झापाको १४ लाख अनुदान र सहकारी संस्थाको १६ लाख २ हजार ८८३ गरी कूल ३० लाख २ हजार ८८३ रुपैयाँको लागतमा ७० फुट लम्बाई र ३२ फुट चौडाईको कृषि गोदाम निर्माण सम्पन्न गरेको छ ।

सामुदायिक पोष्ट हार्भेष्टका संयोजक दुर्गाप्रसाद सापकोटाको सभापतित्व रहेको थियो । कार्यक्रममा संयोजक सापकोटाले कृषि गोदामले विउविजन उत्पादन तथा भण्डारणमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रमका विशेष अतिथि कृषि ज्ञानकेन्द्र झापाका कार्यालय प्रमुख निलकमल सिंहले ज्ञान केन्द्रले कृषकको जीवनस्तर उकास्ने खालका बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । सहकारी मार्फत आएका कार्यक्रम बढी प्रभावकारी देखिएकोले सहकारीले सदस्यहरुलाई कृषि यन्त्रको प्रयोगमा विशेष छुट सुविधा दिनु पर्ने उनको भनाई थियो ।

संस्थाका अध्यक्ष हरि बुढाथोकीले मेची कृषकले खाध्यान्न तथा बिउविजनमा ठूलो सफलता प्राप्त गरिरहेको बताए । उनले धान, मकै, गहुँ, तथा राजमाको गुणस्तरीय बिउ उत्पादन गरेर प्रदेश नम्बर १, २ र ३ सम्म बजार विस्तार गरिसकेको उनको भनाई थियो ।

सो अवसरमा मेचीनगर–५ का वडाध्यक्ष योगेन्द्र थापाले सहकारीको माध्यमबाटै देशले समृद्धि हासिल गर्ने बताए । उनले मेची कृषक बहुमुखी सहकारी संस्थाले सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरेर सदस्यहरुको मन जित्न सफल भएको बताए ।

सल्लाहकार सदस्य तेजप्रसाद चम्लागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन पोष्ट हार्भेष्ट सेवा केन्द्रका सचिव दीपक काफ्लले गरेका थिए ।

यसैबीच सामुदायिक पोष्ट हार्भेष्मा आयोजित तीन दिने कृषि तालिम समेत बुधबार सम्पन्न भएको छ । पोष्ट हार्भेष्टले गुणस्तरीय बिउविजन उत्पादनको लागि अगुवा कृषकहरुलाई सोमबारदेखि तालिम दिएको थियो ।

तालिममा १६० जना अगुवा कृषकहरुले सहभागीता जनाएका थिए । सहभागीहरुलाई मेचीनगर नगरपालिका कृषि शाखाका प्रमुख टेकेन्द्र प्रधानले प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु