प्रसाईले गरे शनि मन्दिरको उद्घाटन

2022-04-28 मा प्रकाशित

मेचीनगर, १५ बैशाख । मागुरमाडीमा स्थापना गरिएको शनि मन्दिरको उद्घाटन गरिएको छ ।
बिहीवार मेचीनगर–९ स्थित शनि मन्दिर समितिको आयोजनामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् समाजसेवी दुर्गा प्रसाईले मन्दिर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उनले मन्दिरको भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएका छन् । प्रसाईले मन्दिरलाई आस्थाको धरोहरको रुपमा विकास गर्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताए ।

आसन्न चुनावका लागि मेचीनगरमा सक्रिय राजनीतिक दलहरुबाट उम्मेद्वार बनेका प्रायः सबैलाई उपस्थित गराइएको कार्यक्रममा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी, उपप्रमुखका उम्मेद्वार मीना पोखरेल उप्रेती, गठबन्धनका तर्फबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी, उपप्रमुखका उम्मेद्वार प्रकाश भण्डारी, राप्रपाका तर्फबाट उपप्रमुख उम्मेद्वार सविना बजगाई लगायत वडाका उम्मेद्वारहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी, राप्रपाका तर्फबाट उपप्रमुख पदका उम्मेद्वार सविना बजगाई, मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्का लगायतले बोलेका थिए ।

शनि मन्दिर समितिका अध्यक्ष देउमान गौलीले दिएको एक कट्ठा जमिनमा मन्दिर स्थापना गरिएको हो । स्थानीय धर्मप्रेमी महानुभावहरुको सहयोगबाट मन्दिर स्थापना भएको समितिका सचिव घनश्याम शिवाकोटीले बताए । अहिलेसम्म मन्दिर सञ्चालनमा तीन लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ । मन्दिरको आर्थिक कारोबार सचिव शिवाकोटीले प्रस्तुत गरेका थिए ।

मन्दिरको भौतिक पूर्वाधारसँगै त्यस ठाउँलाई योगाश्रमको रुपमा विकास गर्ने लक्ष्य समितिले बनाएको छ । सँगै नौ ग्रहको मन्दिरको रुपमा विकास गरिने योजना छ । मन्दिर समिति सात सदस्यीय रहेको छ । शनि मन्दिर समितिका अध्यक्ष गौलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जानुका ओलीले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु