प्रणामी धर्मका अग्रज मणिकदासको स्मृतिग्रन्थ र पत्रकार काजीद्वारा अनुदित कृति बिमोचन

2022-05-26 मा प्रकाशित

।। डम्बर बराल ।।

धुलाबारी, ११ जेठ । मेचीनगरमा बुधबार श्रीकृष्ण प्रणामी धर्मका अभियन्ता एवम् धार्मिक व्यक्तित्व मित्रलाल (मणिकदास) सापकोटाको स्मृतिमा प्रकाशित कृति र अग्रज पत्रकार नकुल काजीद्वारा अनुदित धार्मिक पाठ्यपुस्तकको लोकार्पण गरिएको छ ।

श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल प्रकाशक रहेको मित्रलाल (मणिकदास) सापकोटा कृति तथा स्मृति नामक पुस्तकको लोकार्पण प्रमुख अतिथि श्रीकृष्ण प्रणामी मन्दिर मंगलधाम भारतका गादिपति श्री १०८ मोहन प्रियाचार्य महाराजले गरेका हुन् । पुस्तकको सम्पादन लीलाप्रसाद सापकोटा र हेमन्त दाहालले गरेका छन् ।

धुलाबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित कार्यक्रममा नकुल काजीद्वारा अनुदित पाठ्यपुस्तक निजानन्द बालबोध नामक ६ वटा पुस्तकको बिमोचन समेत प्रियाचार्य महाराजले नै गरेका थिए ।

नेपालमा राणाशासनविरुद्ध नेपाली कांग्रेसमा लागेर जेलनेल समेत भोगेका मणिकदासले श्रीकृष्ण प्रणामी धर्मको प्रचार, विस्तार र मठमन्दिर निर्माण अभियानमा ठूलो योगदान पुर्याएका थिए ।

मेचीनगर वडा नं. १० निवासी उनका साइलो छोरा नै श्री १०८ मोहन प्रियाचार्य महाराज हुन् । मंगलधाम मन्दिर निर्माणमा समेत उनको योगादन थियो ।

बुबा मणिकदासको स्मृतिमा उनको जीवन यात्रा र उनका रचनाको संगालोलाई पुस्तकमा समेटिएको सम्पादक लीलाप्रसाद सापकोटाले बताए ।

२६८ पृष्ठको सो पुस्तकलाई पाँच खण्डमा बिभाजन गरिएको छ । पुस्तकको पहिलो खण्डमा पहिला शुभकामना सन्देश समेटिएको छ । दोस्रो खण्डमा माणिकदास सापकोटाको जीवनी र पुस्तकको तेस्रो खण्डमा ज्ञानमूलक विषयबस्तु समेटिएको छ ।

त्यसैगरी चैथो खण्डमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ भने पाँचौं खण्डमा श्रद्धेय मंगलदास गुरुजीलाई माणिकदासले लेख्नु भएको सन्देश समेटिएको छ ।

श्रीकृष्ण प्रणामी संत्संग सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्वान छत्रप्रसाद अधिकारी र प्रसिद्ध गायक तथा साहित्यकार सीके श्रेष्ठले पुस्तकको समीक्षा गरेका थिए । समीक्षक अधिकारीले पुस्तक मानव जीवनको अभिन्न मित्र हुने बताए । पुस्तकको अध्ययनले हरेक व्यक्तिको जीवन सफल बन्ने उनको भनाई थियो ।

अर्का समीक्षक सीके श्रेष्ठले समाजले मृत्युलाई बढी महत्व दिएको कारण जीवनका भोगाइलाई र गरिने कर्मलाई समाजले महत्व दिन छाडेको बताए । उनले माणिकदास नेपाल र भारत दुबैतिर आफ्ना सुकर्म र सुकृतिले अमर रहेको बताए ।

सो अवसरमा अग्रज पत्रकार नकुल काजीले अनुबाद गरेको पुस्तक प्रणामी समुदायले कक्षा १ देखि कक्षा ६ सम्म पाठ्यक्रममा राखेर अध्ययन गर्ने जानकारी दिइयो ।

कार्यक्रमकै अवसरमा सिलगढी निवासी हंसदासजी महाराजद्वारा लिखित धार्मिक पुस्तक समेत बिमोचन गरिएको छ । सो पुस्तकको बिमोचन समेत प्रमुख अतिथिले गरेका थिए ।

पुस्तकका सम्पादक लीलाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुदिप्ती सुवेदीले गरेकी थिइन् ।

कार्यक्रमको धन्यवाद ज्ञापन गोपाल सापकोटाले गरेका थिए भने शुभकामना मन्तब्य मुक्तिधाम इटहरी वृहत धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष हेमप्रसाद घिमिरे, बुधवारेका अग्रज प्रजापति कोइराला लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु