मल र सिँचाइको प्रवन्ध समयमै गर

2022-06-14 मा प्रकाशित

मनसुन सुरु भएसँगै यतिखेर धानको बीउ राख्ने चटारो छ । कतिपय किसानले बीउ राखिसके कोही अझै राख्ने तयारीमा छन् । कतिपयले चाँडो बीउ राखेका कारण रोपाइ समेत सुरु भएको छ । यो खेतीको समय हो । नेपालमा ३० लाख ९१ हजार हेक्टर प्रतिशत खेती योग्य जमिन रहेको सरकारी तथ्याङ्क छ । झापामा मात्र ८७ हजार ५सय हेक्टर जमिन धानखेती योग्य रहेको छ भने अघिल्लो वर्षमात्र ८५ हाजार ७सय ५० हेक्टर जमिनमा धानबाली लगाइएको थियो । तर यो तथ्याङ्क हरेक बर्ष बिबिध कारणले घट्दो अवस्थामा छ ।
केही वर्ष अघि सरकारले झापालाई धानजोनको रुपमा घोषणा गरेको थियो । अर्थात धेरै भन्दा धेरै धान उत्पादन गर्न सकिने क्षेत्र झापा हो । यहाँ व्यवसायिक र बैज्ञानिक प्रविधिबाट कृषि उत्पादन गरेर नेपाललाई धान क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य थियो । सरकारले धान उत्पादन बढाउन केही योजना समेत अघि सार्याे र कृषकहरुलाई उत्पादनमा लाग्न प्रेरित गर्याे तर त्यो प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । अवका दूई महिना किसान खेतखेतमा कुलो र पैनीमा भेटिन्छन् । अर्थात वर्षभरीलाई खाने अन्न उत्पादनको लागि उनीहरुको सम्पूर्ण मेहनत जोतखन र मलमा केन्द्रित हुन्छ ।
किसानहरु कुलो झोड्ने र खोलाबाट पानी फर्काउने अभियानमा छन् । बर्षेनी खोला दोहन हुँदा खोला गहिरिएर कुलोमा पानी नआउने समस्या धेरैतिर छ । जसका कारण खेतीयोग्य जमिन बर्षेनी बाँझो हुने क्रम बढ्दो छ । सरकारको ध्यान अझै त्यसतर्फ जान सकेको छैन । खासगरी सरकारले खोला ठेक्का लगाउने र ठेकेदारहरुले मापदण्ड विपरित खोला दोहन गर्दा किसानले सास्ती खेप्नु परेको छ । बर्षनी असार १ देखि असोजसम्म सरकारले खोला उत्खनन्मा प्रतिवन्ध लगाउने गरेको छ । तर यो कागजी प्रतिबन्धलाई चुनौति दिँदै सेटिङमा नदी दोहन गर्ने गलत संस्कारको विकास भएको छ । नदी दोहनबाट कुलो पैनी बन्द भएको क्षेत्रको पहिचान गरी स्थानीय सरकारले सिँचाइको प्रवन्ध मिलाउने र समयमै मलको व्यवस्थापन तर्फ ध्यान दिन जरुरी छ । मल धान बालीमा लगाउने बेलामा खोज्दा पाकेपछि मात्र किसानले पाउने अवस्था सिर्जना नबनोस् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु