चरा चिन्ने देवेन्द्र

2022-09-16 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मानिसका विभिन्न इच्छा, चाहना र उद्देश्य हुन्छन् अनि उनीहरु त्यो उद्देश्य प्राप्तिको लागि निरन्तर सक्रिय रहन्छन् । जीवनमा धेरैको उद्देश्य आर्थिक उपार्जन गर्नु नै हो । यसको लागि कोही उद्योग व्यवसाय, कोही जागिर खान्छन् कोही बैदेशिक रोजगारीमा जान्छन् त कोहीे राजनीतिलाई जीवनको उद्देश्य ठान्छन् ।

समाजको यस्तो भीडमा फरक सोच भएका व्याक्तिहरु पनि छन्, जो आफ्नो निजी जीवन भन्दा पनि सामूहिक हितको कुरा गर्छन् अनि सामाजिक क्षेत्रमा लागि पर्छन् । यसै मध्येका एक हुन् मेचीनगर–७ का देवेन्द्र खरेल ।

प्रकृतिपे्रमी खरेल पछिल्लो ६ वर्षदेखि भीर, पाखा र जंगललाई आफ्नो मिसन बनाएका छन् । उनी हरेक दिन सूर्याेदयसँगै आफनो क्यामेरा लिन्छन् अनि जंगलका बिभिन्न ठाउँमा भेटिएका दुर्लभ तथा सुन्दर चराहरुलाई आफ्नो क्यामेरामा कैद गर्छन् । उनको यो दैनिकी नै हो ।

१४ वर्ष अघि काँकरभिट्टामा इस्ट पोइन्ट फोटोग्रामी फर्म दर्ता गरेर बिवाह, ब्रतवन्ध लगायतका विभिन्न कार्यक्रममा फोटो र भिडियो खिच्दै आर्थिक उपार्जनमा लागेका उनी यतिखेर भने पर्यावरण तथा पंछी संरक्षण अभियानका अभियन्ता नै बनेका छन् ।

‘कामै फोटो खिच्ने थियो । कार्यक्रमहरुमा जाँदा बाटोमा भेटिएका बिभिन्न चराहरुको फोटो खिच्थेँे । त्यसपछि क्रमशः चराचुरुङ्गीको फोटो खिच्न र बिभिन्न वनजंगल घुम्न रुची बढ्यो,’ खरेलले भने, ‘आफूले खिचेका बिभिन्न प्रजातिका चराहरुको फोटो देखेपछि श्रीमती निर्मला रानी र छोरीहरुले उत्साहित गरे । आज म आर्थिक उपार्जनमा होइन, चरा संरक्षण अभियानमा छु ।’

खरेलले एक वर्ष अघि नेपालमै लोप भएको भनिएको दुर्लभ चरा हङ्रायो फेलापारे । यो चरा १८० वर्ष अघि चराविद्हरुले नेपालमा लोपभइसक्यो भनेर पुष्टि गरेका थिए । उनले भने, ‘म सधैँ नौलो प्रकृतिका चराहरुको खोजिमा घुमिरहन्छु । सूर्याेदय नगरपालिका जाँदा अनौठो चरा उठेको देखेँ र त्यसलाई पच्छ्याउँदै भीर कान्ला नभनि अघि बढेँ र रुखमा बसेको मौका छोपी उसलाई आफ्नो क्यामेरामा कैद गरेँ । १८० वर्ष अघि लोप भयो भनिएको हङ्रायो चरा सूर्याेदय–१ मा भेटियो ।’

हङ्रायो भेटिएपछि खरेलले तत्कालै पत्रकार सम्मेलन आयोजना गरेर सम्बन्धित निकायलाई समेत जानकारी गराएका थिए । निरन्तर अभियानमा लागेका देवेन्द्रले २ वर्ष अघि नेपालमा फेला नपरेको दुर्लव पन्छी हरित परेवा पहिलो पटक फेला पारे । उनले सो परेवा झापाको मेचीनगर–७ मा फेलापारेर आफ्नो क्यामेरामा कैद गर्न भ्याएका थिए । खरेलले यसलाई नेपाली नाम हरित परेवाको नाम दिएका छन् ।

मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गराउन स्थानीय सरकारसँग पटक पटक दवाव दिँदै आएका चरा अभियन्ता खरेल पछिल्लो समय मेचीनगरमा बर्ड सेन्च्युरीको बनाउनु पर्ने माग गरिरहेका छन् ।

उनी भन्छन्, ‘देशका बिभिन्न संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा धेरै चरा रहेको क्षेत्र मेचीनगर हो । म आफैले ३०० बढी प्रजातिको चरा फेला पारेको छु । यदि अरु पनि लागेर खोजी गर्ने हो भने करिव ४ सय चरा भेटिन सक्छ ।’ नेपालमा हालसम्म ८९० प्रजातिका चरा रहेको उनको भनाइ छ ।

मेचीनगरमा वर्ड सेच्युरी भएपछि पूर्वबाट आउने अन्तर्राष्ट्रिय पर्यटकहरुलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उनले बताए । वर्ड सेन्चुरी भए धेरैले रोजगारी समेत पाउने र नगरकै आम्दानीको श्रोत बढ्ने उनको भनाइ छ । हरेक सिमसार र सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लहर चलेको छ । खरेलले भने, ‘उत्कृष्ट र भरपर्दाे पर्यककीय क्षेत्र बनाउन अब चरा पर्यटनलाई समेत जोडिनुपर्छ ।’

खरेलले मेचीनगरमा रहेको एउटा नदीलाई चरा संरक्षित क्षेत्र बनाउनु पर्ने र वन जंगलमा चराको लागि आवश्यक फलको विरुवा रोप्नु पर्ने बताए । २०४६ सालमा एसएलसी पास गरेपछि भारतको सिक्किम हुँदै १५ वर्ष दिल्लीमा रोजगारी जीवन बिताएका खरेलले दिल्लीमै निर्मला रानीसँग लगनगाँठो गाँसे ।

उनले २०४६ सालमा हिकोला काँकरभिट्टामा कर्मचारी भएर काम गरेको अनुभव सँगालेका छन् । उनका दुई छोरी छन् । जेठी छोरी सिक्किममा कम्प्युटर साइन्स पढ्दै छिन् भने कान्छी छोरी मेचीनगर–६ स्थित नर्थपोइन्ट अंग्रेजी माविमा कक्षा ८ अध्ययनरत् छिन् । लामो समयसम्म एक्लै अभियानमा जुटेका खरेलले हालै मेची चरा तथा बन्यजन्तु संरक्षण समाज गठन गरेका छन् । सो समाजको अध्यक्षमा स्वयम् खरेल छन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु