बाहुनडाँगीमा ग्रामीण उद्यम सेवा कार्यशाला गोष्ठी

2023-02-23 मा प्रकाशित

मेचीनगर । मेचीनगर–४ का स्थानीय महिलाहरु बिहीबार नयाँ उत्साहका साथ वडा कार्यालयमा आयोजित एउटा अन्तरक्रियामा सहभागी बने । उनीहरुलाई काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले व्यापार व्यवसायमा प्रवद्र्धन गर्न अपनाउनु पर्ने विविध विषयमा प्रशिक्षणात्मक अन्तरक्रिया गरेका थिए ।

ग्रामीण उद्यमलाई कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा उनीहरुले सहभागी महिलाहरुलाई समूह बनाएर सहजीकरण गरेका थिए । कार्यक्रमलाई रोचक बनाउन विभिन्न प्रयोगात्मक विधि अपनाइएको थियो । सो अवसरमा वडाध्यक्ष अर्जुनकुमार कार्कीले आफ्नो पेशा र व्यवसायलाई व्यवस्थित गर्न अन्तरक्रियाले सहयोग पुग्ने भन्दै सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गरे ।

अन्तरक्रियामा अंकित सुवेदी, श्रृजना भूषाल, सवल श्रेष्ठ, सरस्वती कार्की र निकिता लुइँटेलले सहजीकरण गरेका थिए । एक सातादेखि बाहुनडाँगी आएका उनीहरुले विषेशगरी होमस्टेलाई व्यवसायीकरण गर्न अपनाउनुपर्ने विधिका बारेका स्थलगत अध्ययन तथा होमस्टे सञ्चालन गर्ने महिलाहरुलाई प्रशिक्षित गर्दै आएका थिए ।

कार्यक्रममा पढेको विषयलाई व्यवस्थित र वैज्ञानिक ढंगबाट व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा सहभागीहरुलाई बुझाइएको थियो । उनीहरुले लेखा राख्ने र कुशल मार्केटिङ विधिका बारेका जानकारी गराएका थिए । कार्यक्रममा वडाका ४५ भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु